काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना, पाँचको मृत्यु

काठमाडौं । स्वाीथ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा बिहीबार कोरोनाभाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले कोरोनाभाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ६५ पुगेको छ ।

बिहीबार पछिल्लो २४ घण्टामा नेपालका काठमाडौं उपत्यकासहित ३६० जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ ।

योसँगै देशभरि संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको मन्त्रालयका प्रवक्ता डा.गौतमले बताए ।

संक्रमणको संख्या ह्वात्तै वृद्धि भइरहेको काठमाडौं उपत्यकामा बिहीवार थप ८७ जनामा संक्रमण पुष्टि भएको छ ।

तीनमध्ये ७६ जना काठमाडौ जिल्लाका छन् । १० जना ललितपुर जिल्लाका र एक जना भक्तपुर जिल्लाका रहेका छन् ।

पाँच सयभन्दा माथिको संख्यामा संक्रमितहरू उपचाररत रहेका जिल्लाहरूमा काठमाडौं थपिएको छ । अन्य जिल्लाहरू पर्सा, रौतहट, महोत्तरी र कैलाली रहेका छन् ।

संक्रमित शून्य भएका जिल्लाहरूमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ र रुकुम पश्चिम रहेका छन् ।

पर्साका ४२ जनामा बिहीवार सङ्क्रमण पुष्टि भयो भने कपिलवस्तुका ३२ जनामा, धनुषाका २४ जनामा र कैलालीका २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मोरङ्गको रङ्गेली नगरपालिकाका ४५ वर्षीय पुरुषको बुधवार कोशी अस्पतालमा ज्वरो र श्वासप्रश्वासमा समस्या भई ल्याउँदा मृत्यु भएको छ ।

मोरङ्गकै विराटनगर महानगरपालिकाका मधुमेह तथा मिर्गौलाको दीर्घरोगी ४५ वर्षीय पुरुषको बुधवार मृत्यु भएको र मृत्युपछि परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सर्लाही जिल्ला मलंगवा नगरपालिकाका ६५ वर्षीया महिलाको काठमाडौंमा बुधवार मृत्यु भएको छ । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

धनुषाको जिल्ला मिथिला नगरपालिकाका ७२ वर्षीया महिलाको काठमाडौंमा गत शनिवार मृत्यु भएको थियो । उनमा दम, उच्च रक्तचाप र मधुमेहको बिरामी रहेकी बताइएको छ ।

सप्तरी जिल्लाको रुपनी नगरपालिकाकी ४२ वर्षीय पुरुषको बुधवार राजविराजबाट धरान थप उपचारका लागि लग्दै गर्दा मृत्यु भएको छ ।

उनी डेढ महिना पहिले मलेशियाबाट फर्केको र घरमै क्वारन्टीनमा बसेको बताइएको छ ।

विगत २४ घण्टामा पीसीआर विधिबाट ६,६२२ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा २३३ जना निको भएका छन् भने भाइरसमुक्त भएका सङ्क्रमितको संख्या १५,००० नाघेको छ । हालसम्म गरिएको पीसीआर परीक्षणको संख्या चार लाख नाघेको छ ।

अहिले देशभरि विभिन्न स्थानमा ९,४७० मानिसहरू क्वारन्टीनमा छन् ।

Published : Thursday, 2020 August 6, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया