कम्युनिस्ट सांसद सिलवाल र सञ्जेल बेपत्ता भएपछि ललितपुर कांग्रेसले खोल्यो बाटो, डोजर लगेर पुगे नेताहरू

गोदावरी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरूको बेवास्ताका कारण ललितपुर जिल्लाअन्तर्गतको कान्तिलोकपथको पहिरो समयमा हट्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।

कम्युनिस्टहरूले लापरबाही गरेर सडक खोल्न चासो नदेखाएपछि ललितपुर कांग्रेसको पहलमा कान्तिलोकपथमा खसेको पहिरो हटाएर बिहीबारदेखि बाटो खुलाइएको छ ।

ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित नेकपाका सांसद नवराज सिलवाल र प्रदेश सांसद चेतनाथ सञ्जेलले पहिरो हटाउन कुनै पनि पहल नगरेको स्थानीयले गुनासो गरेका छन् ।

पहिरो हट्न नसक्दा स्थानीयस्तरमा उत्पादन हुने तरकारी, दुधसहितका कृषिजन्य वस्तु गाउँमा नस्ट हुन पुगेको छ । सो क्षेत्रबाट किसानहरूले कृषि उपज काठमाडौं उपत्यकामा ल्याउने गरेका छन् । बाटो नै बन्द भएपछि किसानहरूले कांग्रेससँग नेताहरूसँग बाटो खोल्न अनुरोध गरेका थिए । कांग्रेस नेताहरूले पनि तत्कालै बाटो खोल्न पहल गरेका हुन् ।

नेकपाका प्रतिनिधि सभाका सांसद सिलवाल र प्रदेश सांसद सञ्जेलले बाटो खुलाउन पहल नगरेपछि नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यसहितका नेताहरूले आफैले डोजर लगेर बाटो खुलाएका छन् ।

कम्युनिस्टहरूले बाटो खुलाउन पहल नगरेको गुनासो आएपछि ललितपुर कांग्रेसका नेताहरूले डोजर लगेर बाटो खुलाएको नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।

बिहीबार कांग्रेस नेताहरूले सडकमा अगाडि डोजर लगाएर पछिपछि आफूहरूको गाडी लगेर बाटो खुलाएको महर्जनले बताए ।

नेपाली कांग्रेस ललितपुर सभापति एवम् पूर्वसांसद मदनबहादुर अमात्य, कांग्रेस नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, युवानेता मीनकृष्ण महर्जन, बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चन, उप–प्रमुख रञ्जना घिमिरे, वडाध्यक्ष तथा नेपाली कांग्रेस बागमती गाउँपालिका सभापति विष्णु तिमल्सिना, जिल्ला सदस्य रामकृष्ण हुमागाइँ, प्रभाकर पोखरेल, ललितपुर क्षेत्र नं. १ प्रदेश ‘ख’का सभापति रामकृष्ण लामा ‘ईन्द्र), नेविसंघ ललितपुरका सचिव दीपक घिमिरे, ललितपुर क्षत्र नं. १ का सभापति कमल लों तामाङ लगायतको सकृयता र स्थानीय किसानहरूको सहजीकरणमा डोजर लगाएर बाटो खोलिएको छ ।

Published : Thursday, 2020 August 6, 2:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया