‘म कांग्रेसको इमान्दार कार्यकर्ता र जनप्रतिनिधि हुँ, झुठ बोल्न जान्दैन, मेरो क्रसर अबैध होइन’

यामबहादुर मल्ल, कांग्रेस नेता एवम् अध्यक्ष, जलजला गाउँपालिका, पर्वत

यामबहादुर मल्ल ‘रामकृष्ण’ नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष पनि हुन् । जलजला गाउँपालिकाको अध्यक्ष मल्लले कोरोना महामारी र लकडाउनका बेला आफ्नो बलबुताले भ्याएसम्म अति विपन्न समुदायलाई खाद्यान्नसहितका राहत वितरण गरेका छन् । उनले स्वास्थ्य सामग्री पनि वितरण गरेका छन् । आफ्नो व्यक्तिगतका साथै गाउँपालिका र विभिन्न संघसंस्थासँग समन्वय गरेर उनले राहत वितरण गरेका छन् ।

कालीगण्डकी क्रसर उद्योग सञ्चालन गर्दै आएका मल्लले राजनीतिलाई पेसाभन्दा पनि समाज सेवाका रुपमा लिनुपर्ने बताउँछन् । राजनीतिमा होमिएको व्यक्ति कुनैन कुनै पेसा व्यवसायमा लाग्नुपर्छ भन्ने मान्यता उनको छ । राजनीति गर्ने व्यक्तिले व्यवसाय गरेन भने भ्रष्टाचर त्यहीँबाट शुरु हुने उनको बुझाइ छ । राज्यले तोकेका मापदण्डभित्र रहेर व्यवसाय गर्नुपर्ने उनले बताएका छन् । क्रसर उद्योग, पर्वत कांग्रेसको अवस्था र जलजला गाउँपालिकालगायतका विषयमा अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’सँग हाम्रा सहकर्मी विमल योगीद्वारा गरिएको कुराकानीको सम्पादित अंश –

पर्वत जिल्लामा नेपाली कांग्रेसको अवस्था के छ ?

देशभरि कांग्रेसको अवस्था र आन्तरिक विवादले केही असहज अवस्था जस्तो देखिएको छ । पर्वत जिल्लामा कांग्रेसको अवस्था राम्रो छ । पर्वत कांग्रेस अन्य जिल्लाको तुलनामा मिलेर जान प्रयासरत छ । केही विवाद देखिए हामी आफैले मिलाउने प्रयास गर्दै आएका छौँ । अपवाद बाहेक पर्वतमा नेपाली कांग्रेस राम्रो अवस्थामा छ । गुट र उपगुटले गर्दा कांग्रेसलाई अर्को पार्टीसँग भन्दा आफ्नै पार्टी साथीहरूसँग लड्ने परम्परा एकदमै झन् बढेको अवस्था छ । विवादलाई मिलाउनको लागि न्युनीकरण गर्न नेतृत्वले जान्नुपर्ने कुरा हो । हरेक जिल्लामा नेतृत्व छ । सहकार्य र सहमति गर्ने बास्तवमा नेतृत्वले नै हो । नेतृत्व भनेको कस्तो हुनुपर्छ भन्दा त्यहाँको परिस्थिति, त्यहाँको आफ्नो राजनीतिक जो विगतबाट चलिरहेको कुरालाई यसरी जाने हो है भनेर अगाडि बढ्नुपर्छ । अहिले दुई ठूला कम्युनिस्ट पार्टी मिलेको अवस्था छ । स्थानीय चुनाव आउँदै छ । स्थानीय चुनावलाई मध्यनजर राखेर, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई ध्यान दिएर पार्टीमा सहकार्य, सहमतिभन्दा अर्को बिकल्प छैन ।

कम्युनिस्टले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा अधिकांश स्थानमा जितेको छ । पर्वतमा कांग्रेसको पोजिशन के हो ?

कांग्रेसको विगत हेर्दा ०५६ बाट । स्थानीय निर्वाचनमा हाम्रो अवस्था कमजोर नै हो ०४९ र ०५४ मा गाविसको चुनावहरूमा कम्युनिस्टहरू अलिक बढि नै हो । त्यसमा पनि ०५६, ०६४, ०७० सम्म हाम्रो क्षेत्र नं. १ मा तीन पटक कांग्रेसले जितेको हो । ०६४ मा कम्युनिस्ट अर्थात माओवादीको जबरजस्त दब्दबा रहेका बेला नेपाली कांग्रेसले जितेको थियो । ०७० मा कांग्रेसले जित्यो । पहिला पर्वतमा दुइटा क्षेत्र थियो । अहिले एउटा क्षेत्र भएको छ । दुइटा प्रदेश निर्वाचन क्षेत्र छ । क्षेत्र नं. ‘ख’ कांग्रेसको बर्चश्व भएको ठाउँ हो । अहिलेको परिस्थितिमा सात वटा स्थानीय तहमा कांग्रेसले तीन वटामा जितेका छौँ । स्थानीय चुनावमा दुइटा कम्युनिस्ट पार्टी मिलेका थिएनन् । अहिलेको अवस्थामा उनीहरू मिल्दै गर्दा यी तीन ठाउँमा हाम्रो उनीहरूको भन्दा धेरै भोट छ । हामीले त्यो हारेको ठाउँमा कसरी जित्ने र जितेको ठाउँमा कसरी बचाउने भन्ने चुनौती छ । दुइटा ठूला कम्युनिस्ट पार्टी मिलेको अवस्था छ ।

पर्वतमा गुटगत समस्या छ कि छैन ?

त्यो समस्या अलिअलि छ । पहिला केन्द्रमा मात्रै गुट सीमित थियो । पहिला पर्वतमा गुट भन्ने नै थिएन । अहिले साँच्चै इमान्दारिताका साथ भन्ने हो भने गाउँको एउटा टोलमा पनि गुटको गन्ध आइसकेको छ । केन्द्रमा जे भएपनि जिल्लामा गुटको गन्ध आउनु हुँदैन ।

त्यसलाई समाधान गर्नेतिर तपाईहरू लाग्नुभएको छैन ? तपाई आफै पर्वत कांग्रेसको कोषाध्यक्ष मिलाउनेतिर लाग्नुभएन ?

गुट अन्त्य गर्नेतिर नेतृत्व लागेको छ । नेताहरूले व्यवस्थापन गर्ने हो । म पनि गुटभन्दा पनि पार्टीभित्र देखिएका केही मतमतान्तरलाई मिलाउन लागेको छु । केन्द्रीय नेतृत्व आदरणीय अर्जुन जोशी दाई पनि हुनुहुन्छ । उहाँको प्रयास पनि छ । नेताहरूका बीच जुँगाको लडाइँ भएको छ । आफूले जसलाई जे गर्‍यो त्यसलाई मात्रै अगाडि सार्ने र त्यसलाई मात्रै गर्नुपर्छ भन्ने, अरुलाई ठाउँ नै नदिने, अर्कोलाई पेल्ने, त्यो प्रवृत्ति छ । यो प्रवृत्तिको अन्त्य नभइकन पार्टी संगठन पनि हुँदैन । १४औँ महाधिवेशनले यसलाई समाधान गर्नेछ जस्तो लाग्छ । कांग्रेसले आफ्नो महाधिवेशनका साथै स्थानीय तहलगायतका चुनावलाई पनि हेर्नुपर्छ । महाधिवेशनका बेला गुट बनाऔँ । गुट वा साथी बेगरको कसैको पनि यात्रा सफल हुँदैन । महाधिवेशनमा प्रतिस्पर्धा गर्दा स्वच्छ तरिकाले गरौँ । अरु बेला मिलेर पार्टी बनाऔँ । कम्युनिस्टसँग लडौँ । देश र जनताको विकास गरौँ ।

कांग्रेसको १४औँ महाधिवेशन आएको छ । पर्वतमा कांग्रेस पार्टीमा तपाईहरूबीच विवाद छ कि छैन ?

विवाद छ । पर्वतमा दुइटा टिम देखिएको छ । देखिए पनि त्यस्तो ठूलो समस्या छैन । मिलाउनै नसक्ने समस्या पर्वतमा छैन । हामी र हाम्रो नेतृत्वले ती समस्यालाई समाधान गर्न सक्छ । मेरो विश्वास छ । गुटको समस्या पर्वतमा धेरै ठूलो समस्या होइन । केही आन्तरिक समस्याले तीन पटक प्रतिनिधि सभामा जितेको कांग्रेसले १३ हजार मतको अन्तरले हार्ने अवस्था भयो । त्यो भनेको गुट र उपगुटकै समस्या हो । पर्वतमा ६ हजार मतको अन्तरघात भयो भन्ने कुराको चर्चा पनि छ । हाम्रो अनुमानमा हजार–बाह्र सय मतको फरकमा हारजित हुनुपर्ने हो । तर, कम्युनिस्टसँग कांग्रेसको त्यति ठूलो मतअन्तर भयो ।

तपाई जलजला गाउँपालिकाको अध्यक्ष पनि हुनुहुन्छ । तपाईले के–के काम गर्नुभएको छ ?

अहिले हामीले यो काम राम्रो गरियो भनेर भन्न पनि सकिदैन । यो कुरा स्पष्ट रुपमा भन्नुपर्छ । लाज मान्ने कुरै छैन । जति गर्न सकियो गरेका छौँ । जनतालाई सरल रुपमा सेवा दिने हो । सकेसम्म सेवा दिँदा जनताको गुनासो नओस् भन्नेमा मेरो ध्यान केन्द्रित छ । संघीयता आयो । संघीयताको जुन विचार, आस्था, संघीयताको कार्यान्वयन कसरी हुनुपर्ने थियो ? भन्दा स्थानीय सरकारसँग सञ्चालन र अहिलेको संविधानले दिएअनुसार ७५३ वटा गाउँपालिका र नगरपालिकाले अधिकार कार्यान्वयन गर्न पाएका छैनन् । हामीलाई अधिकार दिनु प¥यो नि त । अधिकार मात्रै दिएर पनि हुँदैन । त्यसलाई स्रोत साधन दिनुपर्छ । बजेट दिनुपर्छ । बजेट बढाएर दिने बेला झन् घटाएर दिएको छ । बजेट दिने बेला पार्टीगत पनि हेरिएको छ । कांग्रेसले जितेको गाउँपालिकामा बजेट घटाएर दिइएको छ । जनसंख्या, भूगोल, आन्तरिक स्रोत साधनहरूअनुसार बढाएर जानुपर्ने थियो । तर, संघीयताको मर्मअनुसार काम हुन सकेको छैन ।

तपाई जनप्रतिनिधि भएर कालीगण्डकी नदीमा अबैध रुपमा क्रसर चलाउनुभएको छ रे हो ?

त्यो सबै गलत कुरा हो । अबैध रुपमा क्रस चलाएको होइन । राज्यको नीति नियमभित्र रहेर क्रसर चलाइएको छ । मैले जसरी क्रसर चलाएको छु देशभरिका क्रसरहरू त्यसैगरी नै चलेका छन् । केही दिन अगाडि रवि लामिछानेजी जानुभएको थियो । हाम्रो क्रसरमा कसरी जानुभयो थाहा छैन । कमसेकम अर्काको सम्पत्ति, अर्काको घरमा जाँदा कमसेकम मलाई जानकारी गराएर जानुपर्ने थियो । म काठमाडौंमा थिएँ । रविजीले एउटा नोटिस लगेर क्रसरमा टाँस्नु भएको छ । रविजीले टाँस्नुभएको मापदण्ड २०७२ को हो । नेपाल सरकारले निकालेको त्यो मापदण्ड लागू हुनै नसक्ने मापदण्ड हो । अहिले नयाँ मापदण्ड २०७७ क्रसर, गिट्टी, बालुवाको कार्य विधि ल्याएको छ । रविजीलाई त्यो कुरा पनि थाहा रहेनछ । थाहा नभएर त्यस्ता कामहरू किन गरिन्छ ? रविजी जानेबुझेको राम्रो सञ्चारकर्मी हुनुहुन्छ । बास्तवमा भन्ने हो भने म उहाँको शुभेच्छुक पनि हुँ ।

उहाँ क्रसरमा जाँदा स्थानीयलाई पनि कुरा बुझ्नु भएको होला । ती कुरा टिभिमा देखाउनु भएन । मेरा कुरा पनि जस्तोको त्यस्तै राख्नुभएन । रविजीलाई मेरो क्रसरको बारेमा कसैले गलत सूचना दिएको जस्तो लाग्यो । रविजी जस्तो राम्रो सञ्चारकर्मी कसैको गुमराहमा पर्नु हुँदैन । मोरङमा क्रसरको बारेमा के भएको थियो । उहाँलाई राम्रोसँग जानकारी छ । उहाँकै रिपोर्ट हेरेर मैले पनि जानकारी पाएँको थिए । समाचार सम्प्रेषण गर्नु अगाडि कसेको के हिडन कुरा छ त्यो बुझ्न जरुरी छ । मेरो क्रसर अबैध छैन । राज्यले तोकेअनुसार नै छ । भ्याटबिलबाट कर तिरेको छु । त्यो क्रसर मेरो गाउँपालिकामा छैन । त्यो कुरा उहाँलाई राम्रोसँग जानकारी हुनुपर्ने हो । मैले क्रसर अहिले चलाएको होइन । बीस वर्षदेखि त्यो क्रसर सञ्चालनमा छ । मेरो क्रसर उद्योग ०५७ सालमा स्थापना गरेको उद्योग हो ।

अर्को कुरा पार्टीगत कुराले जाने गरिन्छ । कसरी हुन्छ दुःख दिने, त्यो नियत देखिन्छ । माथि आफ्नो सरकार छ भनेर शक्ति परिचालन गर्ने यस्तो परिपाटी पनि भएको छ । बेगर लाइसेन्स त कसैले गरेन होला ? त्यस बेला नेपाल सरकारले जे मापदण्ड माग्यो त्यही मापदण्डमा गएर गरियो । अहिले नयाँ मापदण्ड आयो त्यो मापदण्डमा जाने अवस्था त छैन नि । त्यहाँ भएको पैसा, लगानी, गाडी, जग्गा त्यहीँ किनेको छ । बैंकले त्यसलाई लगानी गरेको छ । पर्वत, म्याग्दी, बागलुङमा कहिँ पनि छैन समथल जमीन । सबै भिरालो जमिन छ । तल खोला छ । माथि भिर छ । जग्गा नै त्यस्तो छ । क्रसर उद्योग भनेको कस्तो चिज होभन्दा खोलाको नजिकै हुनुप¥यो । क्रसरलाई पानी चाहिन्छ । थुप्रो पानी चाहिन्छ । पाँचदेखि ६ इञ्च पाइपबाट पानी तान्नुपर्छ । ठूला गाडी जानुपर्छ । सडकको नजिक हुनुपर्छ । क्रसरले अरुलाई डिस्टब हुनु भएन । प्रदुषण हुनु भएन । त्यो कुरा त आईईईमा हुन्छ ।

तपाईको क्रसर उद्योग अबैध हो कि होइन ? राज्यलाई कर तिर्नु हुन्छ कि हुँदैन ?

अबैध होइन । राज्यलाई कर तिरेको छु । भ्याटबिल अहिले पनि काट्ने गरिन्छ । घरेलु उद्योगमा मेरो मात्रै नभइ देशभरिका ७ सय क्रसर उद्योग दर्ता छन् । सात सय क्रसर उद्योगनै २०७४ सम्म नवीकरण भएका थिए । त्यसपछि नेपाल सरकारले नवीकरण नै गरेको छैन ।

किन नवीकरण भएन त ? भ्याटबिल काट्न मिल्छ त ?

नयाँ मापदण्ड माग्यो । त्यो मापदण्डमा जाने अवस्थामा छैन । भ्याटबिल काट्न मिल्छ । कारोबार मिलान गर्न मिल्छ । साना उद्योगमा दर्ता भएको त्यसलाई नवीकरण गरेको छैन । त्यो मापदण्ड गए गर्ने । नभए नगर्ने । हाम्रो कारणले क्रसर उद्योग नवीकरण भएको होइन । सरकारको कारणले नवीकरण नभएको हो । सरकारले नयाँ मापदण्ड ल्याएको छ २०७७ मा, त्यो मापदण्ड पनि पहिलाकोलाई ल्याएको छ ।

राजनीतिक दलका नेताहरूले व्यापार गर्न हुन्छ कि हुँदैन ?

राजनीतिक दलका मान्छेले व्यापार गर्न हुन्छ भन्छु मैले । राजनीति दलका नेताहरूले व्यापार गरे पो निष्पक्ष रुपले जनताको सेवा गर्छ होला । व्यापार नै गरेन, केही पनि गरेन भने त उसले भ्रष्टाचार गर्छ । हाम्रो पनि परिवार हुन्छ । नेता तथा कार्यकर्ता हुन्छन् । उनीहरूलाई समस्या पर्दा व्यापारबाट आउने पैसाले बाँच्ने हो । नेताहरूले व्यापार नगर्ने हो भने आम्दानीको अबैध स्रोत खोज्न थाल्छन् । त्यसले गर्दा सरकारी सम्पत्ति दुरुपयोग हुन्छ । नेताहरूलाई कानूनअनुसार व्यापार गर्न दिनुपर्छ । राजनीतिक दलको मान्छेले व्यापार गरेन भने त्यसले भ्रष्टाचार गर्छगर्छ । त्यसलाई रोक्नका लागि पनि राजनीतिक दलका नेताहरूले व्यापार गरेर आफ्नो गुजारा गर्नुपर्छ ।

तपाई पर्वत कांग्रेसको कोषाध्यक्ष पनि, जलजला गाउँपालिकको अध्यक्ष पनि, लकडाउनका बेला जनतालाई राहत बाँड्ने कार्य गर्नुभयो कि भएन ?

राहत वितरणको काम धेरै गरेको छु । पर्वत जिल्लाका सात वटै स्थानीय तहलाई आफूले सकेको सहयोग गरेको छु । सात वटा स्थानीय तहलाई झण्डै सात लाख बराबरको राहत अर्थात स्वास्थ्य सामग्रीहरू दिएको छु । विशेष गरेर स्वास्थ्यकर्मीहरूलाई चाहिने स्वास्थ्य सामग्रीहरू दिएको छु । अति निम्न परिवारलाई रासनपानी पनि बाँडिएको छ । मेरै जलजला गाउँपालिकामा पनि नगदका साथै खाद्यान्नहरू वितरण गरेको छु । दुई हप्ता अगाडि एउटा संस्थासँग सहयोग मागेर ३० लाख बराबरको मेरै जलजला गाउँपालिकामा झण्डै १६ सय घरपरिवारलाई दोस्रो चरणमा राहत खाद्यान्न वितरण गरिएको छ । म्याग्दी जिल्लामा पनि सहयोग गरेको छु । कसैले सहयोग माग्यो भने आफूले सक्ने सहयोग गरेको छु ।

Published : Thursday, 2020 August 6, 7:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया