भूमिसुधार मन्त्री अर्यालको जिल्लामा नेकपाभित्र पहिरो, लाेकप्रिय युवाहरू कांग्रेसमा प्रवेश

स्याङ्जा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको युवा संघका जिल्ला सदस्यसहित स्याङ्जामा १४ जना युवाहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा परित्याग गरी राष्ट्रिय युवा संघ स्याङ्जा जिल्ला सदस्य बिक्रम पोखरेलसहितका युवा बुधवार कांग्रेसमा प्रवेश गरेका हुन् । स्याङजाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवम् भूमिसुधार मन्त्री पदमा अर्यालले काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला स्याङजामा नेकपाभित्र पहिरो गएको छ ।

पुतलीबजार नगरपालिका वडा नम्बर ४ निवासी पोखरेलसहित घनश्याम गौतम, शिव थापा लगायतका युवालाई कांग्रेस नेता एवम् पूर्वसांसद राजु थापा, नेपाली कांग्रेस स्याङजाका सभापति कुमार राना लगायतका कांग्रेसका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेस नेता एवम् पूर्वसांसद थापाले हरेक नेपालीहरू अब राजनैतिक रुपमा सचेत रहन जरुरी भएको बताए । उनले नेपाली कांग्रेसको नेतृत्वबिना मुलुकको विकास असम्भव रहेको बताए ।

नेकपा छाडेर कांग्रेस प्रवेश गरेका बिक्रम पोखरेलसहितका युवाहरूले कम्युनिष्ट नेताहरू मुखले जनताको हितकारी पार्टीका रुपमा नेकपालाई चिनाउन खोजेपनि यथार्थमा त्यो भ्रम भएको बताए ।

मुलुकको विकास र आम नेपालीबीच समान न्याय दिलाउने पार्टी कांग्रेस नै भएको ठहर गर्दै आफूहरू नेकपा छाडेर कांग्रेस प्रवेश बताएको नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समाजका महासचिव ध्रुबबन्धु पोखरेलले जानकारी दिएका छन् ।

Published : Wednesday, 2020 August 5, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया