जनताकाे मनभित्र कांग्रेस छ, गाउँले नै हाे कांग्रेस बचाएकाेः दीपक गिरी

घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले पार्टीलाई बलियो बनाउने भनेकै गाउँका कार्यकर्ताहरू रहेको बताएका छन् ।

नेपाली कांग्रेस तुलसीपुर उपमहनगरपालिका वडा नम्वर ७ ले सोमबार गणेशपुर पार्कमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गाउँका कार्यकर्ताहरूका कारण कांग्रेस बलियो अवस्थामा रहेको बताए । उनले निर्वाचनमा प्राविधिक रुपमा कांग्रेस पराजित भए पनि जनताको मनमा कांग्रेस पार्टी नै रहेको बताए ।

गिरीले भने, ‘अहिले कांग्रेस सबै तहमा प्रतिपक्षको भूमिकामा छ । हामीले जिम्मेवारीका साथ काम गर्नुपर्छ । कम्युनिस्टले काम गर्न नसकेपछि जनताले कांग्रेसप्रति आशा र भरोसा लिएका छन् ।’

‘त्यसैले यो बेला सबै नेता तथा कार्यकर्ताहरू संगठन निर्माणमा लाग्न आवश्यक छ’, कांग्रेस नेता गिरीले भने ।

पार्टीको महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक भएको हुँदा समाजका सक्रिय तथा पार्टीप्रति वफादार व्यक्तिहरूलाई संगठनमा ल्याउन उनले सुझाव दिएका छन् ।

काम गर्न सक्ने र नेतृत्व गर्न सक्ने क्षमता भएका, सक्रीय युवा युवतीलाई अवमूल्यन नगर्न समेत नेता गिरीले अनुरोध गरेका छन् । उनले त्यसका लागि आफूले कसैलाई काखा र पाखा नगर्ने बताएका छन् ।

कार्यक्रममा कांग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खडका, नेताहरू जोगेन्द्र विश्वकर्मा, देविका नेपाली, टोपबहादुर केसी, विमल गौतम, रामबहादुर जिसी, जगत थापा, सूर्य शर्मा, नोखी रावत लगायतकाले गुटको राजनीति अन्त्य गर्ने नेताहरूलाई आग्रह गरेका छन् ।

उनीहरूले आफ्नो मान्छे नभई राम्रो र सक्रीय मान्छेलाई सदस्यता दिने परिपाटीको विकास गर्न अनुरोध गरेका छन् ।

यसैबीच, कांग्रेस केन्द्रीय सदस्य गिरीले घोराही उपमहानगरपालिका वडा नं. ५ तथा तत्कालीन धर्ना गाविसका अध्यक्ष स्व.कृष्णबहादुर केसीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

धर्नास्थित निवासमा पुगेर नेता गिरीले स्व.केसीका शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

 

Published : Monday, 2020 August 3, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया