कालापानी, लिम्पियाधुरा, लिपुलेक र गुञ्जीमा रोक लगाउन भनेर पत्र पठाएका छैनौँः उत्तराखण्ड

पिथौरागढ । भारतको उत्तराखण्डका अधिकारीहरूले कालापानी, लिम्पियाधुरा, लिपुलेक र गुञ्जी भ्रमणमा नेपाली नागरिकहरूलाई रोक लगाएको भनेर बिहीबार नेपाली मिडियामा आएका खबरहरूको खण्डन गरेका छन् ।

उत्तराखण्डका अधिकारीहरूले नेपाली नागरिकहरूलाई कालापानी, लिम्पियाधुरा, लिपुलेक र गुञ्जी भ्रमण गर्न रोक्न नेपाली पक्षसँग आग्रह गरेको भन्ने समाचारको खण्डन गरेका हुन् ।

धरचूलाका एसडीएम अनिलकुमार शुक्लाले कालापानी, लिम्पियाधुरा, लिपुलेख र गुञ्जी भ्रमणमा रोक लगाउन भनेर नेपाली पक्षलाई पत्र नलेखेको बताएका छन् । उनले नेपाली सञ्चारमाध्यमहरूमा आएका समाचार झुठो र नक्कली भनेर खण्डन गरेका हुन् ।

‘मैले नेपाली प्रशासनलाई त्यस्तो पत्र लेखेको छैन । त्यस्ता सबै समाचारहरू नक्कली छन्’, शुक्लाले भनेका छन्, ‘त्यस्ता कुराहरूमा खर्च गर्न हामीसँग समय छैन ।’

पिथौरागढ जिल्ला मजिस्ट्रेट वीके जोगदंडेले पनि उनलाई त्यस्तो कुनै पत्रको बारेमा जानकारी नभएको बताए । ‘एसडीएम धरचुलाले नेपाली अधिकारीलाई पत्र लेखेको भए मलाई यसबारे जानकारी गराइने थियो’, जोगदंडेले भने ।

एक नेपाली अखबारले एक स्थानीय अधिकारीको उदृत गर्दै नेपाली भूमिमा जान धारचुलाका अधिकारीहरूले नेपालीहरूलाई रोक्न निर्देशन दिएको भनेर समाचार लेखेको थियो । समाचारमा शुक्लाले नेपालका अधिकारीहरूलाई पत्र पठाएका छन् भनेर लेखिएको थियोे । पीटीआई

Published : Monday, 2020 August 3, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया