ओली–दाहाललाई मार्सीको माडले काम गरेन, देश बचाउन कांग्रेस आउनुपर्छः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टबाट मुलुक चल्न नसक्ने बताएका छन् ।

युट्युब च्यानलसँगको अन्तर्वार्तामा खतिवडाले कम्युनिस्टबाट मुलुक नचल्ने भन्दै अबको निर्वाचनमा जनताले कांग्रेसलाई जिताउने बताए । ‘खड्गप्रसाद ओली र पुष्पकमल दाहाललाई मार्सी चामलको माडले चिप्काइएको थियो । त्यो माड धेरै टिकेन’, उनले भने, ‘ओलीजी बामदेव गौतमको घरमा गएर अर्को माड लगाएर आउनुभएको छ । त्यो माडले कति दिन टिक्ने हो ? हेर्न बाँकी छ ।’

नेपाली कांग्रेसका नेता खतिवडाले सत्ताको लोभका कारण नेकपामा ठूलो घाउ बल्झिएको बताए । ‘यही अवस्थामा नेकपा टिक्दैन । नेकपा चर्किएको छ । नफुटोस् भन्ने कांग्रेसको चाहना छ’, उनले भने, ‘कुरा मिलेन भने नेकपाका नेताहरू एकै ठाउँमा लामो समय बस्दैनन् ।’

खतिवडाले ओली नेतृत्वको सरकार ठूला–ठूला भ्रष्टाचार काण्डमा मुछिएको बताए । ‘नेपालको इतिहासमा सबैभन्दा ठूला भ्रष्टाचार भएको छ’, उनले भने, ‘जनताले आशा गरेका मन्त्रीहरू गोकुल बास्कोटा, गोकर्ण विष्ट, योगेश भट्टराई, स्व.रविन्द्र अधिकारी, घनश्याम भुसालहरू कमिशनको चक्करमा लाग्नुभयो ।’

‘रविन्द्र अधिकारीजीको निधन भयो । उहाँले गर्नुभएको कमिशनको काण्डबारे धेरै कुरा नगरौँ’, उनले भने, ‘योगेशजीले अष्ट्रेलियाबाट नेपालीहरूको उद्धार गर्ने बहानामा एक जना दाहाल थरका मान्छेमार्फत ४५ लाख कमिशन खानुभयो । कृषिमन्त्री घनश्याम भुसाललाई मल कहिले चाहिन्छ भनेर थाहा हुँदैन ? मलमा पनि कमिशन खाएका कुराहरू बाहिर आएको छ । देशको दुर्गति भनेको यी हो । मलको हाहाकार छ ।’

‘लकडाउनका बेला पर्यटन मन्त्रीले उद्धारका थुप्रै उडानहरू गर्नुभएको छ । अष्ट्रेलियाबाट उद्धार गरेर दाहाल भन्ने मान्छेलाई ४५ लाख एउटा केसमा कमिशन खाए । १६ सय ५० डलर भाडा तोकियो’, खतिवडाले भने, ‘अरुलाई ल्याउँदा २३ सय ५० डलर तोकेर भाडा लिएर ७५० डलर फरक भयो । एक फ्लाइटमा १ करोडसम्म कमिशन खाइएको छ ।’

‘चाइनाबाट ल्याइएका विमानहरू पनि यतिलाई दिने षड्यन्त्र गरिँदै छ’, उनले भने, ‘ईश्वर पोखरेलज्यूले केही गर्नु हुन्छ कि भन्ने लागेको थियो । उहाँले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी नेपाली सेनालाई दिएर बद्नाम गर्नुभयो । औषधि खरिद प्रकरणमा मन्त्रीका छोराहरू संलग्न नभइ सकरी डिल हुन्छ ? ओम्निले कसरी ठेक्का पाउँछ ?’

काठमाडौंमा पाँच रुपियाँमा पाइने सर्जिकल मास्क चीनबाट ५३ रुपियाँ खरिद गरिएको भन्दै नेपाली कांग्रेसका नेता खतिवडाले सरकार कोरोनाको नाममा कति भ्रष्टाचार गरेको छ भन्ने कुरा प्रष्ट भएको बताए ।

खतिवडाले कांग्रेसमा रहेको गणेश प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन् । उनले पार्टीको संगठन निर्माणमा लागेकाहरूलाई कुनै भेदभाव नगरी जिम्मेवारी र अवसर दिनुपर्ने सुझाव नेतृत्वलाई दिएका छन् ।

‘कांग्रेसमा विनोद चौधरी हाम्रै पार्टीमा हुनुहुन्छ । धनप्रियलाई मात्रै होइन जनप्रियलाई पनि अवसर दिनुपर्छ’, उनले भने, ‘होइन भने राजनीतिप्रति वितृष्णा पैदा हुन्छ ।’

कांग्रेस नेता खतिवडाले पार्टीका शीर्ष नेतृत्वलाई गाली गरेर मात्रै पार्टीमा सुधार नहुने बताए । उनले सुधारका लागि आफैबाट शरुवात गर्नुपर्ने बताएका छन् ।

‘कांग्रेसमा एकले अर्कालाई गाली गर्ने होइन विश्वासमा लिएर काम गर्नुपर्छ । कांग्रेसमा धेरै मान्छे आउन तयार भएका छन्’, उनले भने, ‘१४औँ महाधिवेशनमा युवाहरू आउनुपर्छ । सिनियर नेताहरूको सम्मान हुनुपर्छ । युवालाई स्थान दिनुपर्छ ।’

‘कार्यकर्ताको भावना बुझेर नेताहरूले काम गर्नुपर्छ । कांग्रेसलाई सुवर्ण अवसर’, उनले भने, ‘यही मौकामा ‘‘असफल सरकार, सफल कांग्रेस’’ भनेर जनतामा जानुपर्छ ।’

खतिवडाले गुटभन्दा माथि उठ्नुपर्ने बेला आएको बताएका छन् । ‘गोविन्दराज जोशी कांग्रेसको सिनियर नेता हुनुहुन्छ । पुष्कर ओझा पनि मैले सम्मान गर्ने नेता हो’, उनले भने, ‘अरु दिन कांग्रेस भन्ने मतदान गर्ने दिन भोट नहाल्नेहरू हामीलाई चाहिँदैन । असहमत राख्नेलाई सिध्नउने काम हुनुहुनु हुँदैन । केन्द्रीय समितिमा गोविन्दराज जोशी र पुष्कर ओझाका विषयमा छलफल हुन सक्छ ।’

Published : Monday, 2020 August 3, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया