देउवा–सिटौला गएकै स्थानमा दोस्रो दिन पुगे पौडेल, जना ऐक्यवद्धता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अनसनरत ‘इनफ इज इनफ’का अभियन्ताहरूलाई भेटेर आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।

आइतबार काठमाडौंको बसन्तपुर पुगेर पौडेलले असनकारीहरूको माग र आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाले अनसनप्रति ऐक्यवद्धता जनाएको अर्को दिन पौडेलले पनि समर्थन जनाएका छन् ।

अभियन्ताहरू १६ दिनदेखि अनसनरत छन् ।कांग्रेस नेता पौडेलले मागहरूमा समर्थन जनाउनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् ।

अनसनमा बसेकाहरूले क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राखेर अनसनमा बसेका छन् ।

नेता पौडेलले कम्युनिस्ट सरकारले कोरोनाबाट जनताको जीवन बचाउन राखिएका सामान्य मागलाई पनि पूरा गर्न कन्जुस्याइँ गरेको भन्दै आपत्ति जनाए ।

‘सामान्य तर जनताका अति आवश्यक मागहरू राखेर अनसनमा बसेका युवाहरुका कुरा नसुन्नु सरकारको अटेरीपन हो’, उनले भने, ‘यी मागहरूको सरकारले बेवास्ता गर्नु सरकारको चरम लापरबाही हो ।’

कांग्रेस नेता पौडेलले देशको समस्याको मुख्य जड कमिसनतन्त्र र भ्रष्टाचारतन्त्रलाई उखेल्न सबै मिलेर कडा संघर्ष गर्नुपर्ने बताएका छन् ।

Published : Sunday, 2020 August 2, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया