धादिङमा पहिरोपीडितको घरमा साथी बनेर पुग्यो कांग्रेस, २८ हजार प्रदान

धादिङ । नेपाली कांग्रेस धादिङको त्रिपुरा सुन्दरी वडा नं. ६ ले पहिरोपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।

पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कांग्रेसले २८ हजार ५ सय आर्थिक सहयोग गरेको पार्टी सचिव दिनेश बुर्लाकोटीले जानकारी दिए ।

साउन ६ गते राति घरमाथिबाट आएको पहिरोमा पुरिएर त्रिपुरासुन्दरी वडा नं. ६ गोलाङस्थित काफलगैरीका तीन जनाको मृत्यु भएको थियो ।

पहिरोमा परी चेतबहादुर खानका जेष्ठ सुपुत्र २५ वर्षीय मिलन खान, उनकी बुहारी २१ वर्षीय सम्झना खान र डेढ वर्षीया नातिनी अञ्जिता खानको मृत्यु भएको थियो ।

आर्थिक सहयोग पार्टी सभापति राजेन्द्रबहादुर शाहले मृतक मिलन खानका भाई मञ्जिर खानलाई हस्तान्तरण गरेको सचिव बुर्लाकोटीले बताए ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा पार्टीका क्षेत्रीय सदस्य एवं युवा नेता राजन बुर्लाकोटीले प्राकृतिक विपत्तिसंग कसैको केही नलाग्ने भन्दै विपत्तिको सबै मिलेर सामना गर्नुपर्ने बताए ।

पार्टी सभापति शाहको पहिरोपीडित परिवारलाई परेको पीरमर्काप्रति कांग्रेस जानकार रहेको भन्दै कांग्रेस सधैँ पीडित परिवारसँग रहने बताए । उनले आगामी दिनमा सक्ने सहयोग गर्न आफूहरू तयार रहेको आश्वासन समेत दिएका छन् ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, वडाध्यक्ष लेखबहादुर अधिकारीसहित जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Published : Sunday, 2020 August 2, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया