मुस्लिम आयोगका अध्यक्ष अन्सारीद्वारा शुभकामना प्रदान, घरमै नवाज पढ्न आग्रह

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले शनिबार बकर ईद मनाउँदै छन् । कोरोना महामारीका कारण यस वर्ष भने उनीहरूले घरमै बसेर नमाज पढ्नेछन् ।

मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने प्रचलन रहेपनि राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस संक्रमणको जोखिम भएकाले घरमै बसेर नमाज पढ्न सबैलाई आग्रह गरेका छन् । उनले ईदका अवसरमा सबै मुस्लिम समुदायलाई शुभकामना समेत दिएका छन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिक धार्मिक अगुवाहरू बताउँछन् ।

नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।

Published : Saturday, 2020 August 1, 10:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया