कोरोनाबाट चारको मृत्यु, काठमाडौं उपत्यकामा ३८ संक्रमित

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले चार जनाको मृत्यु भएको जानकारी दिए ।

उनले विभिन्न जिल्लामा थप २२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए । योसँगै हालसम्म पुष्टि भएका संक्रमितको कुल संख्या १९,७७१ पुगेको छ ।

संक्रमितको संख्यासँगै निको हुनेको संख्या पनि बढिरहेको छ । विगत २४ घण्टामा १५१ जना निको भएसँगै अहिलेसम्म १४,३९९ जना रोगमुक्त भएका छन् ।

मृत्यु पुष्टि गरेका तीन जना पर्सा जिल्ला निवासी पुरुष र एक जना पर्सा घर भई ललितपुरमा बसोवास गरिरहेकी महिला भएको डा. गौतमले जनाएका छन् ।

वीरगञ्ज नगरपालिकाका ५६ वर्षीय पुरुषको सघन उपचार कक्षमा भेन्टीलेटरमा उपचारको क्रममा गण्डक अस्थायी कोरोना अस्पतालमा बिहीवार राति मृत्यु भएको हो। उनलाई मुटुको समस्या रहेको बताइएको छ ।

अर्का ३५ वर्षीय पुरुषको पनि बिहीवार बेलुकी निधन भएको छ । ६५ वर्षीय पुरुषको बिहीवार बिहान निधन भएको हो ।

बिहीवार निधन भएको पुरुषको मृत्युपश्चात् गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको डा. गौतमले बताए ।

ललितपुर बस्दै आएकी ६५ वर्षीया महिलाको भने पाटन अस्पतालमा शुक्रवार बिहान निधन भएको हो ।

उनी १० दिन अगाडिदेखि उपचाररत रहेको र मधुमेहको बिरामी रहेको बताइएको छ ।

पर्सामा शुक्रवार थप ४१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा हालसम्म कोरोनाभाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या ५२७ पुगेको छ ।

शुक्रवार काठमाडौंमा ३२ जना, ललितपुरमा पाँच जना र भक्तपुरमा एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमितको संख्या काठमाडौंमा ४२२ जना, ललितपुरमा ९६ जना र भक्तपुरमा ५६ जना पुगेको छ । संक्रमितमध्ये छ जनाको मृत्यु भएको छ ।

Published : Friday, 2020 July 31, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया