खेलकुद विभागद्वारा सागका स्वर्ण विजेताहरूलाई नगदसहित सम्मान, खेलाडीमय बन्याे सानेपा (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले १३औँ सागगेमका स्वर्ण पदक विजेताहरूलाई नगदसहित सम्मान गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा विभागले ८० जना स्वर्ण पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरूलाई सम्मान गरेका हुन् ।

विभागले खेलाडीहरूलाई नगद र सम्मान पत्रसहित सम्मान गरेको सचिव मीनकृष्ण महर्जनले जानकारी दिए । प्रत्येक खेलाडीलाई १०–१० हजार नगद प्रदान गरिएको छ ।

कोरोना र विभिन्न समस्याका कारण कार्यक्रममा उपस्थित हुन नसकेका खेलाडीहरूलाई विभागले नगदसहितको सम्मानपत्र घरमै पुर्‍याइदिएनेछ ।

खेलाडीहरूलाई सम्मान गरेपछि सम्बोधन गर्दै सभापति देउवाले खेलाडीहरू देशको गहना भएको बताए । उनले खेलकुदका मार्फतबाट खेलाडीहरूले देशको नाम राखेको भन्दै खुसी व्यक्त गरे ।

सभापति देउवाले कांग्रेसको सरकार बन्यो भने खेलाडीका साथै खेल क्षेत्रमा विशेष कार्यक्रम र योजनाहरू ल्याउने आश्वासन दिएका छन् । देउवाले खेल क्षेत्रको विकासमा आफूले विशेष पहल लिने समेत उल्लेख गरेका छन् ।

खेलकुद विभागका संयोजक एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेताहरूलाई भन्दा धेरै विश्वमा खेलाडीहरू चिनिने गरेको बताए । उनले कांग्रेसले विगतमा खेल क्षेत्रलाई उपेक्षा गरे पनि यस पटक कांग्रेसले विभागमार्फत खेलाडीहरूलाई स्मरण गरेको बताए ।

उनले भने, ‘विगतमा केही कमीकमजोरी भयो । कांग्रेसले खेलाडीलाई उपेक्षा गरेकै हो । अबका दिनमा त्यो हुनेछैन ।’ कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले खेलकुद विभाग गठन भएको छोटो समयमा खेलाडीहरूलाई सम्मान गरेर अगाडी बढ्न लागेको बताए ।

‘खेलाडीहरूलाई हामीले सानो प्रयास स्वरुप नगदसहित सम्मान पत्र दिएर सम्मानित गरेका छौँ’, उनले भने, ‘भविष्यमा खेलाडी मात्रै होइन, प्रशिक्षक र खेल क्षेत्रका अन्य व्यक्तिहरूलाई पनि सम्मान गर्ने छौँ ।’

कार्यक्रममा सभापति देउवाका साथै, संयोजक बस्नेत, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, विभागका सचिव महर्जन, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, प्रशिक्षक, खेलाडी लगायतको उपस्थिति रहेको थियो ।

हालै गठन भएको नेपाली कांग्रेसको खेलकुद विभागले आफ्नो सुरुवाती चरणमै उल्लेख्य कार्यहरू गर्न शुरु गरेको छ ।

विभागले आगामी दिनहरूमा जिल्ला र स्थानीय तहमा समेत खेलाडीहरूलाई प्रशिक्षण दिने योजना बनाएको छ । कांग्रेसका अन्य विभागहरूभन्दा खेलकुद विभागले आफूलाई सक्रिय बनाएको छ ।

Published : Friday, 2020 July 31, 6:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया