आर्थिक विषयमा पौडेलसँग मेरो नाम जोड्नु गलतः कांग्रेस नेता थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले केही अनलाइनहरूले व्यक्तिगत चरित्र हत्या हुने गरे समाचार लेखेको भन्दै चिन्ता जनाएका छन् ।

पूर्वसांसद समेत रहेका थकालीले लामो राजनीतिक जीवन व्यतित गर्दै आएको व्यक्तिलाई आर्थिक विषयसँग जोडेर आएका समाचार र आक्षेपहरूमा कुनै सत्यता नरहेको बताएका हुन् । उनले व्यक्तिगत चरित्र हत्या गरेर आएका आक्षेपवाला समचार नरोकिए कानूनी उपचारमा जाने चेतावनी दिएका छन् ।

एक अनलाइनले कांग्रेस नेता थकालीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आर्थिक विषयमा जोडेर समाचार लेखेपछि सो समाचारको खण्डन गरेका हुन् ।

‘तत्कालीन अवस्थामा म वाणिज्यमन्त्री हुन रामचन्द्र पौडेलसँग जोडेर सम्प्रेषण गरिएको तथ्यहीन समाचार आएको रहेछ’, कांग्रेस नेता थकालीले भनेका छन्, ‘बरू त्यस बखत मैले मभन्दा तत्कालीन प्रदेश नं. ४ सांसद दिलबहादुर घर्ती वरिष्ठ हुनुहुन्छ उहाँलाई नै गरौँ भन्ने सुझाब दिएको थिए ।’

‘मेलै बुझेसम्म दिलबहादुर घर्तीले मन्त्री बन्न अनिच्छुक भै मलाई नै बनाउन भन्नु भएपछि रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह, डा.रामशरण महत र डा.शेखर कोइराला लगायतको प्रचण्ड प्रयासमा सभापति शेरबहादुर देउवाबाट सिफारिस भएको भन्ने सुनेको हुँ’, थकालीले भनेका छन् ।

‘०३४ सालदेखि नेविसं हुँदै हालसम्म अनबरतरूपमा लोकतन्त्र, बहुदलीय शासन प्रणालीका लागि संघष र उतार चढाउ बेहोरी यहासम्म आइपुगेको हुँ, झस्केलाबाट होइन ।’

पूर्वमन्त्री गोविन्दराज जोशीलाई कांग्रेसले कारबाही गरेर निस्काशन गरेपछि विभिन्न अनलाइनहरूमा वरिष्ठ नेता पौडेलसँग आर्थिक विषय जोडेर समाचारहरू आइरहेका छन् । वरिष्ठ नेता पौडेलले कांग्रेस नेता थकालीलाई मन्त्री बनाउन आर्थिक लेनदेन गरेको झठ्ठा र कपोकल्पित समाचार आएपछि थकालीले खण्डन गरेका हुन् ।

राजनीतिक जीवनमा कसैले पनि नलगाएको आक्षेप लगाएपछि आफू मर्माहत भएको थकालीले बताएका छन् । उनले समाचार लेख्दा सत्यतथ्य बुझेर मात्रै लेख्न आग्रह गरेका छन् ।
नेता थकालीले पुनः चरित्र हत्या हुने गरेर समाचार सम्प्रेषण गरिए न्यायायिक निकाय प्रेस काउन्सिलसहितका जाने चेतावनी दिएका छन् ।

Published : Friday, 2020 July 31, 2:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया