नागरिकको उद्धारको बहानामा सरकारद्वारा भ्रष्टाचार, कांग्रेसद्वारा छानविनको माग

काठमाडौं । नेपाली कांग्रेसले उड्डयन क्षेत्रमा कोरोनाको असर र समाधानका विषयमा सरोकारवालासँग परामर्श गरेको छ ।

कांग्रेसको कोरोना अनुगमन समितिका संयोजक एवम् सह–महामन्त्री डा.प्रकाश शरण महतले बुधबार काठमाडौंमा उड्डयनमा देखिएको समस्याका विषयमा हवाइ उड्डयन कम्पनीहरूसँग छलफल गरेका हुन् ।

स्वास्थ सुरक्षामा विशेष सावधानी अपनाएर सर्वसुलभ तवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका गतिविधिहरू सञ्चालन गर्न सरकारलाई दवाव दिने निर्णय भएको छ ।

सह–महामन्त्री डा.महतले सरकारले उड्डयन क्षेत्रलाई सहज र सर्वसुलभ बनाउन ध्यान पु¥याउन नसकेको बताए । उनले सरकारले नागरिकहरूको उद्दार गर्ने नाममा अत्याधिक महँगो शुल्क लिएको गुनासाहरू आएको भन्दै उद्धारमा भएका भ्रष्टाचार अनियमिताको छानविन हुनुपर्ने माग गरेका छन् ।

नियमित उडानका सन्दर्भमा समेत भइरहेका कमीकमजोरीलाई सुधार्नुपर्ने आवश्यकता रहेको डा.महतले बताए ।

कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नागरिकको सहज उद्दार गर्न सरकारले नसकेको मात्र नभई महामारीमा समेत विभिन्न अनियमितताका घटनाले सरकारको निकम्मापन झल्किएको कांग्रेसका सह–महामन्त्री डा.महतले बताए ।

नियमित उडान शुरु गर्ने विषयमा पनि सरकारले स्वास्थ सुरक्षासम्बन्धि पर्याप्त तयारी नगरेको भन्दै उड्डयन क्षेत्रका प्रतिनिधिहरूले उडान अनुमतिमा समेत सरकारले पक्षपात गरेको बताए । उनीहरू सरकारको गलत नीतिका कारण कम उडान हुने गरेको बताए ।

सरकारले आफू निकटका सीमित उडानहरू गर्न ट्राभल्स र जहाज कम्पनीहरूलाई अनुमति दिँदा जनता महँगो शुल्क तिर्न बाध्य भएको सरोकारवालाहरूले बताए ।

सहभागीहरूले कांग्रेसको कोरोना अनुगमन समितिलाई आफूहरू सरकारको दोहोरोपनाका कारण समस्यामा परेको भन्दै सरकारलाई दवावका लागि आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस कोरोना अनुगमन समितिका सदस्यहरू एनपी साउद, डा.चन्द्र भण्डारी, राजीवबिक्रम शाह, डा.प्रभु बुढाथोकी र विभिन्न हवाई एजेन्सीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Published : Thursday, 2020 July 30, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया