प्रहरी मुख्यालयमा कार्यरत नौँ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा धमाधम कोरोना भाइरसका संक्रमित भेटिन थालेका बेला प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जना संक्रमित थपिएको बताए ।

थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको कडायतले जानकारी दिएका छन् ।

नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन् ।

मुख्यालयमै संक्रमणको जोखिम बढेपछि थप सतर्कता अपनाइएको छ । प्रवक्ता कडायतले संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको बताए ।

थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ । संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

मुख्यालयमा संक्रमण कसरी फैलियो भन्ने कुरा अझै यकिन भएको छैन ।सुरूमा दुई–चार जना सुरक्षाकर्मीमा ज्वरो देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

पछि उनीहरूको सम्पर्कमा आएका अन्य कर्मचारीको परीक्षण गर्दा संक्रमित संख्या बढेको हो ।

Published : Thursday, 2020 July 30, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया