शिक्षामा क्रान्ति कांग्रेसले ल्याएको हो, कम्युनिस्टले चुरिफुरी नगरे हुन्छः दीपक गिरी

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले राजनीतिक आस्थाका आधारमा शैक्षिक क्षेत्रलाई विवादित बनाउन नहुने उल्लेख गरेका छन् ।

दाङको राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई पूर्वमन्त्री समेत रहेका गिरीले शिक्षामा राजनीति छिराएर विवादित बनाउन शैक्षिक गुणस्तर बिग्रिने बताए ।

उनले नेपाली कांग्रेसले नै शिक्षामा क्रान्ति ल्याएको भन्दै शैक्षिक संस्थाहरूसँग अत्यन्तै नजिकको सम्बन्ध रहेको बताए ।

कम्युनिस्टहरूले शैक्षिक क्षेत्रलाई बेलाबेला अस्तव्यवस्त बनाउन खोज्ने गरेको बताएका गिरीले भने, ‘शिक्षाको उज्यालो र क्रान्ति कांग्रेसले ल्याएको हो । कामन काजका कम्युनिस्टहरूले धेरै चुरिफुरी नगरे हुन्छ ।’

गिरीले यो क्याम्पसको संस्थापक समेत हुन् । २०४६ सालको जनआन्दोलन पश्चात् स्थापना गरिएको क्याम्पसप्रति आफ्नो सधैँ साथ र समर्थन रहेको उनले बताए ।

‘आस्थाका आधारमा शैक्षिक संस्थालाई कदापि विवादित क्षेत्र बनाउँनु हुँदैन भन्ने मेरो धारणा हो’, उनले भने, ‘मध्यपश्चिमका जनताका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्न सुविधायुक्त होस् भन्ने मूल मर्मका साथ हामीले यो क्याम्पस स्थापना गरेका हौँ ।’

उनले भने, ‘शैक्षिक संस्थालाई विवाद रहित र सार्वजनिक बनाउन हामी सदैव प्रतिबद्ध छौँ ।’

Published : Tuesday, 2020 July 28, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया