सरकारको तयारी फितलो, कोरोनाको जोखिम बढयो, कांग्रेस चुप बस्दैनः उदयशम्शेर राणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले कोरोनाको महामारीले ठूलो नोक्सानी गर्ने संकेत गरेको बताएका छन् ।

काठमाडौंको बसन्तपुरमा युवाहरूले शुरु गरेको ‘इनफ ईज इनफ’को ११औँ दिनको सत्याग्रहप्रति नेपाली कांग्रेसको ऐक्यबद्धता धर्नापछि पत्रकारहरूसँग कुरा गर्दै राणाले कोरोनाको जोखिम झन् बढ्दै गएको बताए ।

उनले कोरोनाको जोखिम तीब्र रुपमा बढ्दा समेत सरकारले पीसीआर परीक्षणको दायरा घटाएर जनताको जीवनसँग खेलवाड गरेको बताए । यस्ताे अवस्थामा कांग्रेस चुप लागेर नबस्ने उनले बताएका छन् ।

‘कोरोना भाइरसको संक्रमण रोकथामका लागि पीसीआरको परीक्षण दायरा बढाउनुपर्छ’, उनले भने, ‘क्वारेन्टिनको स्तरमा वृद्धि गर्नुपर्छ । जोखिम भएका जिल्ला र स्थानलाई सिल गरेर जनताको जीवन बचाउनुपर्छ ।’

युवाहरूले शुरु गरेको सत्याग्रहप्रति समर्थन जनाएका उनले सरकार कोरोना महामारीमा सचेत हुनै नसकेको बताए । सरकारको अहिलेको तयारीले केही दिनभित्र भयाबह अवस्था सिर्जना हुने हो कि भन्ने खतरा उत्पन्न भएको कांग्रेस नेता राणाले बताए ।

पूर्वसांसद समेत रहेका राणाले सरकारले सत्याग्रहमा बसेका युवाहरूको मागलाई सम्बोधन गर्नुपर्ने माग गरे । उनले माग सम्बोधनका लागि कांग्रेसले कडाभन्दा कडा दवाव सिर्जना गर्ने बताएका छन् ।

Published : Tuesday, 2020 July 28, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया