पौडेल–कोइराला निकटका जिल्ला सभापतिहरूको गोप्य भेला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला निकटका जिल्ला सभापतिहरूले कम्युनिष्ट अधिनायकवाद, भ्रष्टाचार तथा कोरोना नियन्त्रण र ब्यवस्थापनमा सरकारी अकर्मण्यताबिरुद्ध चरणवद्ध संघर्षमा उत्रिन अत्यावश्यक भइसकेको निस्कर्ष निकालेका छन् ।

सोमबार काठमाडौंमा बसेको पौडेल–कोइराला समूह निकटका जिल्ला सभापतिहरूको भेलाले त्यसप्रकारको निर्णय र निर्देशनका लागि नेतृत्व समक्ष आग्रह गर्ने निर्णय गरेका हुन् ।

‘पार्टीको आगामी १४ औं महाधिवेशनको सफलता र प्रभावकारितालाई सुनिश्चित गर्नेगरी सबै जिल्लाका जनता र स्थानीय संगठनको भुईं तहसम्म निरन्तर उठवसमा रहेका सबै नेता एवं साथीह‘सँग पार्टीको सैद्धान्तिक, बैचारिक, सांगठनिक र अग्रगामी नीति निर्माणको सवालमा अर्थपूर्ण संवादलाई तिब्रताका साथ अघि बढाउने’, विज्ञप्तिमा भनिएको छ ।

‘१४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भैसकेको अवस्थामा महाधिवेशनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा बाहेक बिभाग वा समितिहरू गठन गर्ने कार्य निर्वाचन आचारसंहिता, राजनीतिक नैतिकता र हाम्रै ऐतिहासिक परम्परा बिरुध्द भएकाले यस्ता लोक हँसाउने, भद्दामजाक कर्म तत्काल रोक्नुपर्ने र यसबीच बनाइएका सबै विभाग र समितिहरु खारेज गर्नुपर्ने’, निर्णय भनिएको छ ।

‘पार्टी सभापतिहरूको हेटौंडा भेला, हलेसी भेला, ककनी भेला र पार्टीको आठौं महासमिति बैठकमा पार्टीको भुईं तहबाट उठेका आवाजहरूलाई वाणी प्रदान गर्दै पार्टीको समग्र शुद्धीकरण र सुदृढीकरणका सन्दर्भमा उठान गरिएका विषयहरूलाई आगामी १४ औं महाधिवेशनमा बिधिवत प्रस्तावका रुपमा अघि बढाउने’, जिल्ला सभापतिहरूले भनेका छन् ।

‘निर्वाचनको बेला बागी उम्मेदवार बन्ने, प्रस्तावक–समर्थक बस्ने सबैजना बिधानत स्वतः पार्टीबाट बर्खास्त हुने प्रष्ट ब्यवस्था हुँदाहुँदै पनि महाधिवेशनको प्रकृया आरम्भ भैसकेपछि यतिखेर आएर एक वा अर्को बहानामा निष्ठावान नेता र कार्यकर्तामाथि छानीछानी कार्वाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गंभीर प्रश्न उठेकाले यस्ता गतिविधि तत्काल रोकिनुपर्ने’, विज्ञप्तिमा भनिएको छ ।

जिल्ला सभापतिहरूले भनेका छन्, ‘स्थानीय तह पार्टी समायोजन सम्वन्धमा केन्द्रीय निर्वाचन समितिले सिन्धुपाल्चोक लगायतका जिल्लामा खेलेको भूमिकामा नीतिभन्दा नेता प्रभावको गन्ध आएकाले निर्णय प्रक्रियामा पुनर्विचार गरी निष्पक्षता र तटस्थता कायम गर्न आग्रह गर्ने निर्णयमा भनिएको छ ।’

‘१३औं महाधिवेशनमा सम्पूर्ण बिधि प्रकृया पूरा गरी केन्द्रमा बुझाइएका साथीहरूको कृयाशील सदस्यता तत्काल जिल्लामा पठाउनु पर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘अत्यावश्यक थप कृयाशील सदस्यता पार्टी प्रणाली अनुसार पठाउने र कुनैकस्तै बहानामा अन्य बाटोबाट कृयाशील सदस्यता पठाएर निर्वाचनलाई प्रभावित गर्ने कार्य हुने नहुने कुरालाई सुनिश्चित गर्ने ।’

‘पार्टी–पार्टीबीचको एकीकरण, पार्टी समूह वा ब्यक्तिको नेपाली कांग्रेस प्रवेश कार्यलाई निष्ठावान नेतारकार्यकर्ताको तेजोवध गर्ने, क्षणिक गुटगत फाईदाका लागि पार्टीलाई दीर्घकालीन क्षति पुर्‍याउने वा अन्य अभिष्ट पूरा गर्ने अपारदर्शी कदमको रुपमा अघि बढाउने काम नहोस। एकदुई वा केही नेताको प्रवेशको आडमा सयौं संख्यामा कृयाशील सदस्यता पठाएर अनियमितता गर्ने काम नहोस भन्नेतर्फ नेतृत्वलाई सचेत गराउने’, विज्ञप्तिमा उल्लेख छ ।

‘जनताको आवाज बोल्ने र बोक्ने अभिप्रायले छाया सरकारको अभ्यास समेतमा उत्रिसकेको प्रमुख प्रतिपक्षी दल सौदावाजी शक्तिको रुपमा देखिनु आत्मघाती हुने भएकोले यस्ता मनसाय वा भ्रमलाई चिर्दै सशक्त जनपक्षीय प्रतिपक्षको भूमिका निर्वाह गर्ने’, सभापतिहरूले भनेका छन् ।

‘पार्टीमा लोकतान्त्रिक समाजवादको सामयिक परिभाषा, ब्याख्या, योजना, नीति र कार्यक्रम निर्माणमा नेपाली कांग्रेसका सदस्य र शुभेच्छुक बुद्धिजीवीहरूबीच बैचारिक बहस, संवादलाई तिब्रता दिने’, विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान भ्रष्टाचार–उत्प्रेरक निर्वाचन प्रणालीमा व्यापक सुधार गरी पैसारपाखुराको प्रभावमुक्त प्रतिनिधित्व प्रणाली सुनिश्चित गर्न कृयाशील रहनेछ ।’

‘राष्ट्रियताको सवालमा नेपाली कांग्रेसको ऐतिहासिक अडान र प्रतिवध्दता, पञ्चशीलको सिध्दान्त र असंलग्न परराष्ट्र नीति अनुरुप सीमा लगायतका यावत समस्याहरू वार्ताको माध्यमबाट देश र जनताको हीतमा समाधान गर्न निरन्तर दवाव दिने’, पौडेल र कोइराला निकटका सभापतिहरूले भनेका छन् ।

Published : Tuesday, 2020 July 28, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया