कोरोना देखिएपछि जगदम्बा इन्टरप्राइजेजको उद्योगमा सिल

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित जगदम्बा इन्टरप्राइजेजका सिइओसहित ४ जना मजदुरमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिएपछि मंगलबारदेखि उद्योगलाई सिल गरिएको छ ।

उद्योगमा अर्को सूचना जारी नभए सम्मका लागि सिल गरिएको छ । स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको अनुमति बिना उद्योग प्रवेशमा रोक लगाउने गरी उद्योग सिल गरिएको हो ।

लकडाउनको समयमा समेत भारतबाट मजदूर ल्याएर काम गराएको जगदम्बा इन्टरप्राइजेजका सिइओ ४ मजदूरमा संक्रमण पुष्टि भएपछि उद्योग सिल गर्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले जानकारी दिएका छन् ।

गत साउन ६ गते सो उद्योगमा कार्यरत ५६ वर्षीय सिईओमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनकै कन्ट्याक्ट ट्रेसिङको आधारमा त्यहाँ कार्यरत कामदारहरूको समेत पिसिआर परीक्षण गरिएपछि जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जनाएका छन् ।

सिइओको हाल अस्थायी कोभिड गण्डक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ ।

सीमानाकाबाट भारतीय नागरिक लुकीछिपी वीरगञ्ज भित्रिने र उद्योगमा काम गर्ने क्रम बढ्दै गएपछि अहिले वीरगञ्ज कोरोना संक्रमणको उच्च जोखिममा रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताए ।

Published : Tuesday, 2020 July 28, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया