जनता अब कांग्रेसलाई नेतृत्व दिन चाहन्छन्, पहिला हामी मिलौँः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सरकार चौतर्फी रुपमा असफल भएको भन्दै देश र जनतालाई सम्हाल्न कांग्रेसनै आवश्यक भइसकेको बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भर्चुअल बैठक तथा प्रशिक्षण कार्यक्रममा खतिवडाले कांग्रेसले नै मुलुकलाई समृद्धिमा लैजाने बताए । उनले जनताले अपेक्षा गरेर कम्युनिस्टहरूलाई विश्वास गरेर दिएको मतको दुरुपयोग भएको बताए ।

कांग्रेस १४औँ महाधिवेशनमा प्रवेश गरिसकेको जनाएका खतिवडाले भने, ‘हामी महाधिवेशनमा प्रवेश गरिसकेका छौँ । पार्टीले जारी गरेको कार्यतालिकालाई पनि अनुसरण गर्नुछ ।’

महाधिवेशनमा लोकतान्त्रिक प्रकृयामार्फत प्रतिस्पर्धा गर्न नेताहरूलाई सुझाव दिएका कांग्रेसका युवा नेता खतिवडाले एकले अर्कालाई आक्षेप लगाएर कांग्रेस पार्टी नबन्ने बताए । उनले नेताहरूको सम्मान गर्नुपर्ने बताएका छन् ।

‘पार्टीका शीर्ष नेताहरूलाई गाली गरेर हुँदैन । उहाँहरूलाई हामीले सम्मान गर्न पनि सक्नुपर्छ’, उनले भने, ‘शीर्ष नेताहरूबाट गल्ती हुन्छ भने सच्चिनका लागि कार्यकर्ताले दवाव दिनुपर्छ ।’ जनताले कांग्रेसलाई नै खोजेको अवस्थामा महाधिवेशनमा सकेसम्म तिक्तताहरूलाई कम गरेर जानुपर्ने खतिवडाले सुझाव दिएका छन् ।

खतिवडाले कांग्रेसभित्र रहेको अविश्वासलाई १४औँ महाविधेशनले तोड्नुपर्ने बताएका छन् । उनले जिल्लामा रहेका असन्तुष्टि र चित्त दुखाएका नेता तथा कार्यकर्ताको मन बुझाउनुपर्ने समेत बताएका छन् ।

३६४ दिन कांग्रेस रहने र ३६५औँ दिन अर्को पार्टीमा भोट हाल्ने कार्यमा सुधार हुनुपर्ने खतिवडाको सुझाव थियो । उनले यस विषयमा नेता तथा कार्यकर्ताहरू पनि सचेत हुनुपर्ने बताए ।

कम्युनिस्टसँग आजित बनेका जनताले अबको निर्वाचनमा कांग्रेसलाई नेतृत्व दिन चाहेको खतिवडाले दाबी गरे । उनले आफू गाउँघरका जनतासँगको प्रत्यक्ष भेटघाटका क्रममा स्थानीयहरूले कांग्रेसलाई नै खोजेको उल्लेख गरे ।

कांग्रेसका युवा नेता खतिवडाले उपसभापति विमलेन्द्र निधिद्वारा कोरोनाको महामारीका बेला पनि पार्टीको संगठन र नेता तथा कार्यकर्ताहरूलाई क्रियाशील बनाउन गरिएको कार्यको प्रशंसा गरेका थिए ।

नेपाली कांग्रेस ओखलढुंगा पार्टी सभापति प्रदीप सुनुवारले सबैतिरबाट असफल भएको सरकारबाट गाउँका जनता निराश भएको बताए । उनले निराश भएका जनतालाई कांग्रेसले पार्टीमा स्थान दिनुपर्ने बताए ।

जुम मिटिङमा उपसभापति विलमेन्द्र निधि, प्रदेश सभाका उमेदवारहरू मित्रसेन दाहाल र बालकृष्ण दाहाल, प्रष्ठिानका जिल्ला शाखा प्रमुख एवम् जिल्ला कार्यसमिति ओखलढुंगाका उपसभापति तेजेन्द्र खनाल, प्रतिष्ठानका प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र प्रतिष्ठानका सदस्य राजु नेपालको उपस्थिति रहेको थियो ।

Published : Monday, 2020 July 27, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया