स्याङजा प्रहरीका प्रमुखसहित २१ जनामा कोरोना

स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा प्रहरी प्रमुखसहित थप १८ जना प्रहरी कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

सोमबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार १८ जनामा कोरोना पुष्टि भएपछि योसँगै २१ प्रहरीमा कोरोना लागेको छ ।

स्याङ्जा प्रहरीमा कोरोना संक्रमितको संख्या २१ जना पुगेको छ । अझै केहीको रिपोर्ट आउनै बाँकी रहेको स्याङजा प्रहरीका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

स्याङ्जाका प्रहरी भारतलगायत विदेश र जिल्ला बाहिरबाट आउने नागरिकलाई राख्न बनाइएको क्वारेन्टिन, सिमाना र संक्रमितलाई राखिएको आइसोलेसनमा खटिएका थिए ।

त्यहींबाट उनीहरुलाई कोरोना लागेको हुन सक्ने डिएसपी अधिकारीले आशंका जनाएका छन् ।

साउन ७ गतेदेखि स्याङजा प्रहरी कार्यालय सिल छ । जिल्ला कार्यालयमा कार्यरत ३ जना प्रहरी कर्मचारीलाई साउन ६ गते कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको थियो ।

सामान्य ज्वरो देखिएपछि उनीहरूको साउन ४ गते स्वाब लिएर परीक्षण गर्न पठाउँदा कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालय सिल भएको थियो ।

कार्यालय सिल गरेर जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत सबै ९८ जना प्रहरी कर्मचारीको स्वाब परीक्षण गर्न पठाएको डीएसपी अधिकारीले बताए ।

Published : Monday, 2020 July 27, 5:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया