रामचन्द्र पहिला कम्युनिस्ट, कांग्रेसको सदस्य मैले बनाएको हुँः जोशी

गोविन्दराज जोशी, कांग्रेस नेता एवम् पूर्वमन्त्री

म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु । म जन्मदै कांग्रेस हुँ । मेरो रगतमा कांग्रेस छ । मेरो पिता पदमराज जोशी २०१८ सालमा कांग्रेसको नाममा लमजुङ कुन्छाथाना हुँदै पोखरा जेलमा प्रजातन्त्रको लागि लडिरहँदा रामचन्द्र पौडेल पोखरा संस्कृत पाठशालाबाट वामपन्थी विद्यार्थीको प्रतिनिधि बनी काठमाडौंको विद्यार्थी सम्मेलनमा आएको कुरा श्रीभद्र शर्माको १३ औँ शोकसभामा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा स्वयं रामचन्द्र पौडेलले व्यक्त गरेका हुन् । त्यसको रेकर्ड पार्टी कार्यालयमा छँदै छ होला । वामपन्थीहरूको त्यो सम्मेलनले के निर्णय ग¥यो होला सहजै अनुमान गर्न सकिन्छ ।

त्यसैले तनहुँमा विवाद समानान्तर समितिको होइन विवाद व्याइते कांग्रेस र ल्याइते कांग्रेसको बीचको हो । तनहुँ जिल्लाको हाम्रो झगडा सक्कली र नक्कली कांग्रेसको हो । वीपी कोइरालाको सशस्त्र संघर्षको बेला तनहुँमा रामचन्द्र पौडेलको कुनै भूमिका थिएन । हतियार कहाँ थिए, कोसँग थिए ? सशस्त्र क्रान्तिको के तयारी थियो अहिले पनि उनलाई सोध्दा हुन्छ उनलाई थाहा छैन । वीपी कोइराला नेपाल आएपछि तनहुँँमा नेपाली कांग्रेस गठन गर्ने जिम्मेवारी मैले नै लिएको थिएँ । मैले नै बूढो मानिस, योगदान पनि भएका कारण गोवर्धन शर्मालाई अध्यक्ष बनाई म सचिव रही १० जनाको जिल्ला कार्यसमिति गठन गरेको हुँ ।

त्यो समितिमा पनि रामचन्द्र पौडेल थिएनन् । पछि २०३५ सालमा गोरखपुरमा गिरिजाप्रसाद कोइरालाले बोलाई यिनलाई पनि जिल्ला कार्यसमितिको सदस्य बनाउन भनेपछि उनी जिल्ला कार्यसमितिको सदस्य बनेका हुन् । म केन्द्रीय समितिको सह–महामन्त्री हुँदा उनी केन्द्रीय सदस्य मात्र थिए । मेरो समग्र परिवार कांग्रेसको नाममा होमिएको हो । मेरो पिता पदमराज जोशी २०१८ सालमा जेल पर्नुभएको हो । मेरो छोरा दीपकराज जाशी २०३८ सालमा नेपाल विद्यार्थी संघ तनहुँमा जिल्ला कार्यसमिसितको सदस्य हुँदा प्रहरी हिरासतमा परेको र ०४६ सालको जनआन्दोलनमा पनि दमौलीमा हिरासत रहेको थियो ।

कान्छो छोरा दिनेशराज जोशी पनि ०४६ सालको जनआन्दोलनमा पहिला काठमाडौं र पछि तनहुँँमा हिरासतमा रहेको थियो । छोरी रमा जोशी ०४२ सालको सत्याग्रहमा दमौलीमा गिरफ्तार भएकी थिइन् । मेरो श्रीमती हिमकुमारी जोशीले लामो समयदेखि दमौलीमा पार्टीका कार्यकर्ताहरूलाई निरन्तर सहयोगीको भूमिका निर्वाह गरेकी थिइन् । रामचन्द्र पौडेल दमौलीमा आउँदा झोला बिसाएर मोही, मकै र चिया खाने मेरो घर थियो । अहिले उनी अरवपति भए । त्यसोभन्दा उनलाई होच्याएको भनी अपमान होला । यथार्थ कुरा त्यही हो । उनी मात्र होइन तनहुँँमा हाम्रा नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, सीके प्रसाइँ आदि सबै नेता–कार्यकर्ताहरू जाँदा पनि बस्ने घर मेरै थियो । वीपी कोइराला तनहुँँ जाँदा मेरो भूमिकाको बारेमा मैले भनिरहन नपर्ला त्यही कारण त्यसको लगत्तै म पोखरा जेलमा बस्नुपर्‍यो ।

२०३७ साल वैशाख १ गते राजनैतिक दलका नेताहरूलाई आम माफी दिँदा म जेलबाट छुटेँ । पञ्चायतका कठिन दिनमा कांग्रेसका नेताहरूलाई बास दिने कुरा सहज थिएन । त्यसकारण म दावाका साथ भन्दछु तनहुँमा नेपाली कांग्रेसको संगठन निर्माणमा रामचन्द्र पौडेलको भन्दा मेरो योगदान बढी छ । त्यसकारण राजनीतिको सबै मर्यादा तोडेर ७० को चुनावमा पनि तनहुँँको टिकट आफै बाँड्छु भनी रामचन्द्र पौडेलले तनहूँँको क्षेत्र नं. १ को टिकट बिक्री गरेकै हुन् । स्थानीय निकायको निर्वाचनमा पनि एकलौटी गरेकै हुन् । तनहुँ कांग्रेसको निर्माणमा धेरै मानिसको पसिना बगेको छ । कसैले एकलौटी गर्न खोज्दा त्यसको धेरै ठूलो मूल्य चुकाउनुपर्दछ ।

यस पटकको संघीय संसदको निर्वाचनमा पनि खाली टिकट लिएर मनपरि गरेको परिणाम हो यो पराजय । तनहुँँ जिल्लामा कार्यक्रम राखी महामन्त्री डा.शशांक कोइराला तनहुँँ जान खोज्दा मेरो जिल्लामा किन जान प¥यो भनी महामन्त्रीलाई प्रवेश निषेध गर्ने, केन्द्रीय सदस्य डा.शेखर कोइराला जाँदा कार्यक्रम सकभर हुन नदिने केन्द्रीय पूर्वमहामन्त्री कुलबहादुर गुरूङ र तारानाथ रानाभाट जाँदा वक्तव्य निकाली कार्यक्रम बहिस्कार गर्न निर्देशन दिने यो हैकमले अब कांग्रेस पार्टी चल्दैन । केन्द्रीय नेताहरूको त यो हाल छ भने तनहुँँका कार्यकर्ताको अवस्था कस्तो होला ? यो विषयमा सम्बन्धित नेताहरूलाई बु्झ्दा यथार्थ कुरा अवगत हुनेछ ।

२०४८ सालको निर्वाचनमा मेरो नाम तनहुँँको क्षेत्र नं. २ मा सिफारिस भएकोमा मलाई हराउन क्षेत्र नं. ३ मा पठाउन भूमिका खेलेको, ०५१ को निर्वाचनमा आफू क्षेत्र नं. १ बाट निर्वाचन हार्ने भएपछि मलाई जबरजस्त क्षेत्र नं. १ मा पठाइ आफू क्षेत्र नं. २ मा लडेको, ०६४ को निर्वाचनमा माओवादी उम्मेदवार सुरेश आलेसँग सम्झौता गरी वागी उम्मेवार उठाई क्षेत्र नं. १ मा माओवादी र क्षेत्र नं. २ मा काङ्ग्रेसलाई जीताउने सहमति डा.बाबुराम भट्टराइको मध्यस्थतामा भएको हो । मलाई हराएको मात्र होइन चुनावको दर्भियानमा बन्दीपुरको भुमर्सेमा म लगायत कांग्रेसका मेरो प्रचारमा हिँडेका कार्यकर्ताहरूलाई मार्न माओवादीसँग मिलेमतो गरी आक्रमण गर्न लाएको र मेरो पीएसओले ४ फाएर गोली प्रहार गरेपछि मात्र हामी ज्यान जोगाउन सफल भएका थियौं । यतिमात्र होइन माओवादी जनयुद्धका बेला तनहुँँमा मारिने र विस्थाापित हुने अधिकांश मसँग नजिक भएका साथीहरू थिए । त्यस्तो किनभयो त्यो सबै कुरा हामीले आफ्नो पैतालाले कुल्चेर राखेका छौं । यस्तो अपराधिक मानसिकताबाट पीडित हामी तनहुँँका कार्यकर्ता हाैँ ।

तनहुँँ जिल्ला जनजातिको बाहुल्य भएको जिल्ला हो । संघीय र प्रदेशसभाको ६ सिट मध्ये ६ जना नै बाह्मण र त्यसमा तीन जना पौडेललाई टिकट दिएपछि चुनाव जितिन्छ ? त्यसमा पनि रामचन्द्र पौडेल तनहुँँमा जनजाति विरोधी मानिन्छन् । जनजातिका मानिसहरू विस्तारै कांग्रेसबाट तनहूँँमा पलाएन हँदैछन् । यमबहादुर आले तनहुँँको दक्षिणी भेगमा मगरहरूलाई कांग्रेसमा ल्याउने प्रमुख व्यक्ति हुन् । तनहुँँको नेपाली कांग्रेसको संगठन निर्माणमा उनको अहँ भूमिका छ । आज उनी कांग्रेसमा छैनन् । उनको भाषणको एक अंश पेन ड्राइभ पनि यसैसाथ पेस गरेको छु यो एउटा उदाहरण मात्र हो । आज तनहुँँ कांग्रेसका धेरै कार्यकर्ताहरू यिनै कारणले डिप्रेसनमा छन् । उर्मिला थापा पूर्व सांसद हाल महाधिवेशन प्रतिनिधि आज बोली बन्द भएर उपचार गराइरहेकी छन् । जनजाति भनेपछि देख्नै नसक्ने हुँदा उनलाई भेट्नसम्म नजाने रामचन्द्र पौडेललाई तनहुँँका जनताले के भन्लान् के गर्लान् ?

यसै सन्दर्भमा गत २०७५ माघ ८ गतेको अधिवेशनको सन्दर्भमा हामीहरू आफ्ना पिरमर्काहरू पोख्न सभापतिज्यू समक्ष जाँदा सभापतज्यिूले रामचन्द्र पौडेलले तनहुँँको टिकट म बाड्छु भनेर खाली टिकट लगेको हो भन्नुहँदा हामी त्यहाँ उपस्थित तनहूँँका कार्यकर्ताहरू अत्यन्त मर्माहित भएका छौँ । तनहुँको समस्या राजनीतिक समस्या हो । कानूनी बाटोबाट समाधान निस्कदैन । अझै पनि तनहुँँका कार्यकर्ताहरूले न्याय नपाउने हो भने त्रेता युगका दशरथका छोरा रामचन्द्रको यो कलियुगको अवतार हो । रामचन्द्रले जे गरे पनि केन्द्रीय नेतृत्वले केही गर्न सक्दैन भनी तनहुँको जिम्मा जनजाति विरोधी आपराधिक मानसिकता भएका रामचन्द्र पौडेलको जिम्मा लगाउने हो भने म र तनहुँका म समेतका कार्यकर्ताका बारेमा जे निर्णय गर्दा पनि हामीहरूको कुनै गुनासो रहेने छैन । हाम्रो मञ्जुरी छ । (गाेविन्दराज जोशीले नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा बुझाएको जवाफको अंश)

Published : Monday, 2020 July 27, 10:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया