देउवा र पौडेललाई नसमात्नुस्, पहिला कांग्रेस समात्नुस्ः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले हार्न नहुने चुनाव हारेको बताएका छन् ।

काठमाडौंको ठमेलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले जनतामा कांग्रेसप्रतिको सन्देश नकारात्मक गएकाले चुनाव हारिएको बताए । कांग्रेस पार्टीमा असल मानिसहरू हुँदाहुँदै पनि जनतामा नकारात्मक कुरा गएको बताएका उनले भने, ‘त्यो नकारात्मक कुरालाई हटाउनुपर्छ ।’

‘कांग्रेसले चुनाव हारेको छ । हार्न नहुने चुनाव हारेको छ’, उनले भने, ‘संविधान ल्याउने कांग्रेस पार्टी, संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन कांग्रेस पार्टीले नेतृत्व गर्ने । त्यसलाई कार्यान्वयन गर्ने बेलामा कम्युनिस्टको हातमा जाने, यो ठूलो बिडम्बना भएको छ ।’

‘यो बिडम्बनाबाट देशलाई मुक्ति दिनुपर्छ’, उनले भने, ‘कांग्रेस मिसअण्डरस्ट्याण्डिङको शिकार भएको छ ।’

वरिष्ठ नेता पौडेलले भने, ‘कांग्रेसप्रति जनतामा गलत सन्देश प्रवाह भएको छ । कांग्रेसभित्र सदाचार भएका, स्वच्छ चरित्र भएका सम्पूर्ण मानिस हुँदाहुँदै कांग्रेसको इमेज जनतामा राम्रो भएन । त्यसबाट कांग्रेसलाई जोगाउनुछ ।’

कांग्रेसका वरिष्ठ नेता पौडेलले १४औँ महाविधेशनमा डेमोक्रेटिक एक्सरसाइज राम्रोसँग हुनुपर्ने बताएका छन् । ‘ज्यादा तेरो पक्ष र मेरो पक्ष भनेर कसैसँग नटाँसिऔँ कोही पनि’, उनले भने, ‘तपाईले देउवालाई पनि नसमात्नुस्, पौडेललाई पनि नसमात्नुस्, कांग्रेस समात्नुस् । रुख समात्नुस् । लोकतन्त्र समात्नुस् । लोकतान्त्रिक गणतन्त्र समात्नुस् ।’

‘यो मुलुकको भविष्य र यो राष्ट्रप्रति ईमान्दार हुनुस् । देश र प्रजातन्त्रप्रति ईमान्दार बन्नुस्’, नेता पौडेलले भने, ‘हाम्रो ठूलो गौरवशाली ईतिहाइप्रति ईमान्दार हुनुस् ।’

बिगतमा आफूले युरोपका ८ वटा मुलुकको भ्रमण गरेको बताएका पौठेलले भने, ‘युरोपलाई मान्छेले सुन्दर बनाएका हुन् । नेपालको सुन्दरता प्रकृतिक हो ।’

‘युरोपको सुन्दरता मान्छेले बनाएको हो । नेपालसँग पनि सुन्दरता छ । हाम्रो नेचरले बनाएको सुन्दरता हो’, उनले भने, ‘हामीसँग जलजलाउँदो हिमाल छ । उर्लेर बग्ने नदी छ । जडीबुटी र बनस्पतीका अग्ला पहाड छन् ।’

कांग्रेस नेता पौडेलले नेपालको सुन्दरता पु¥याउने पयर्टन व्यवसायीहरू भएको भन्दै पर्यटनको सुधारका लागि कार्यक्रमहरू आवश्यक रहेको बताए ।

उनले नेपाली कांग्रेसमा प्रवेश गरेकाहरूलाई पार्टीमा उचित सम्मान र योगदानको कदर हुने आश्वासन दिएका छन् ।

Published : Saturday, 2020 July 18, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया