कांग्रेस समस्यामा परेका व्यवसायीहरूको पीरमर्का सुन्दै, कम्युनिस्टहरू सत्ताका लागि झगडा गर्दै

काठमाडौं । नेपाली कांग्रेसको कोरोना अनुगमन समितिले लकडाउनबाट समस्यामा परेका विभिन्न पक्षहरूसँग परामर्श गरेको छ ।

समितिका संयोजक एवम् कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले वैदेशिक रोजगार व्यवसायी, क्रियाशील महिला उद्यमी र उद्योगी व्यवसायीहरूसँग समस्याका बारेमा छलफल गरेका छन् ।

शुक्रबार काठमाडौंमा भएका अलग–अलग छलफलहरूमा कांग्रेसले समस्यामा परेका व्यवसायीहरूको मागलाई कसरी समाधान गर्न सकिन्छ भनेर सुझाव लिएको हो । सुझावअनुसार कांग्रेसले सरकारलाई माग पूरा गर्न दवाव दिनेछ ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले व्यवसायीहरूका मागका विषयमा सुनुवाइ नगरेको भनेर आलोचना भइरहेका बेला कांग्रेसले व्यवसायीहरूलाई भेटेरै गुनासा र सुझावहरू लिइरहेको छ ।

समितिका संयोजक डा.महतलाई वैदेशिक रोजगार व्यवसायीहरूले धरौटीको विषयमा रहेका केही बाधाव्यवधान हटाउन पहल गर्न माग गरेका थिए ।

वैदेशिक रोजगार व्यवसायीहरूसँग सरकारले दुई करोड धरौटी लिने गरेको छ । धरौटीमा पचास लाख नगद पनि रहेको छ ।

बैंकमा जाम भएर बसेको ५० लाख रुपियाँ व्यवसाय गर्नका लागि केही निश्चित समयसम्म चलाउन दिनुपर्ने माग व्यवसायीहरूले राखेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले जानकारी दिए ।

जवाफमा डा.महतले सो विषयमा आफूले अर्थमन्त्री डा.युवराज खतिवडासँगको भेटमा राखेको बताए । उनले भने, ‘यो विषयमा मैले अर्थमन्त्रीसँग कुरा गरेको पनि छु । फेरि पनि सरोकारवाला निकायसँग जोडदार रुपमा आवाज उठाउनेछु ।’

समितिले नेपाल उद्योग परिसंघका पदाधिकारी र व्यवसायीहरूसँग पनि छलफल गरेको छ । त्यस क्रममा डा.महतले व्यवसायीहरूको कुरा सुनेपछि बैंक, व्याज, मजदुरलगायतका विषयमा देखिएका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

डा.महतले क्रियाशील महिला उद्यमीहरूको समस्या पनि सुनेका छन् । महिला उद्यमीहरूले कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण आफूहरूको व्यवसाय संकटमा परेको गुनासो गरेका थिए ।

उनीहरूले व्यवसायलाई माथि उठाउन र देशको अर्थतन्त्र सुधार गर्न महिलाहरूद्वारा सञ्चालित उद्योग व्यवसायलाई विशेष राहतका साथ अगाडि बढ्नुपर्ने बताएका थिए ।

व्यवसायीहरूसँगको छलफलमा सह–महामन्त्री एवम् समितिका संयोजक डा. महतले कोरोना महामारीका कारण देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् ।

उनले देशको अर्थतन्त्रलाई धानेको वर्ग उद्योगी र व्यवसायीहरूलाई समस्या पर्दा सरकारले ध्यान दिनुपर्ने बताए । कांग्रेसले सधैँ उद्योगी र व्यवसायी तथा मजदुरहरूका बारेमा सचेत भएर सोँच्ने गरेको उनले बताए ।

‘सबै मिलेर मात्रै देशको अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ । त्यसका लागि उद्योगी र व्यवसायीहरूलाई सहुलीयत दिनुपर्छ’, डा.महतको भनाइ उदृत गर्दै वैदेशिक रोजगार व्यवसायी प्रज्ञान न्यौपानेले भने, ‘कांग्रेसले सबैको सुझावहरू लिएर सरकारलाई राहतसहितका कार्यक्रमहरू ल्याउन दवाव दिनेछौँ ।’

नेपाली कांग्रेसले सह–महामन्त्री डा.महतको नेतृत्वमा कोभिड– १९ अनुगमन समिति गठन गरेको थियो ।

सो समितिले विगत एक महिनादेखि समस्यामा परेका उद्योगी, व्यवसायी, सर्वसाधारण, क्वारेन्टिन, अस्पताल, चिकित्सकलगायतसँग परामर्श र सुझावहरू लिँदै आएको छ ।

छलफलमा नेपाली कांग्रेसका सह–महामन्त्री एवम् समितिका संयोजक डा.महत, सदस्यहरू चन्द्र भण्डारी, एनपी साउद, राजीवबिक्रम शाह, नैनसिंह महरलगायतको उपस्थिति रहेको थियो ।

वैदेशिक रोजगार व्यवसायीहरूको तर्फबाट तिलकबहादुर रानाभाट, विमल ढकाल, विष्णु गैरे, प्रज्ञान न्यौपाने, सुजितकुमार श्रेष्ठ, रोहन गुरुङलगायतको उपस्थिति रहेको थियो ।

नेपाल उद्योग परिसंघसँगको छलफलमा अध्यक्षसहितका पदाधिकारी, उद्योगी र व्यवसायीहरू रहेका थिए ।

Published : Saturday, 2020 July 18, 9:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया