सरकारले बेवास्ता गरे कांग्रेसका बस्नेतले पहिरोपीडितको घर बनाइदिने, नगद ५ लाख वितरण

बाह्रबिसे । नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरोपीडितको बसोबासका लागि पहल गर्ने आश्वासन दिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बाढीपहिरोपीडितको घर बनाउन आफूले पहल गर्ने बताए ।

‘बाढीपहिरोपीडितको घर सुरक्षित स्थानमा सरकारले बनाइदिओस्’, उनले भने, ‘यदि सरकारले बनाइदिँदैन भने पीडितहरूको घर बसरी बनाउने त्यो हामीलाई थाहा छ । हामी बनाउँछौँ ।’

नेता बस्नेतले भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा आएको बाढीपहिरोबाट घर भत्किएकाहरूको घर बनाउन पहल गरिदिने बताए ।

असार २५ गते आएको बाढीपहिरोका कारण विस्थापित भएकाहरूको सुरक्षित बसोबासका लागि बस्नेतले समन्वय गरेर घर निर्माण गर्न पहल गर्ने बताए ।

विस्थापित र घरबारविहीन भएकाहरूको वडा कार्यालयले तथ्यांक संकलन गरेपछि उपयुक्त सुरक्षित जग्गा भएमा आफूले घर निर्माणका लागि सहयोग गर्ने नेता बस्नेतले बताएका छन् ।

भोटेकोशी गाउँपालिकाका ८० घरपरिवार ताताोपानी ड्राइपोटमा अस्थायी रुपमा बसिरहेका छन् ।

नेपाली कांग्रेसले बाढीपहिरोपीडित घरपरिवारलाई प्रतिपरिवार पाँच हजार नगदका दरले रकम वितरण गरेको छ ।

घाइते र मृतक परिवारलाई समेत गरि ५ लाख रुपियाँ वितरण गरिएको नेता बस्नेतले जानकारी दिएका छन् ।

नेता बस्नेत, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता ईन्द्र बाँनिया, प्रदेश सांसद नीमा लामासहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाँले साउनको दुई गतेदेखि प्रदेश सभाको बैठक बस्ने लागेको भन्दै सोही स्थानबाट बाढीपहिरोपीडितको बासस्थानका लागि पहल गर्ने आश्वासन दिए ।

प्रदेश सांसद नीमा लामाले पनि सिन्धुपाल्चोकका बाढीपहिरोपीडितपीडितलाई उपयुक्त स्थान सुरक्षित साथ राख्न पहल गर्ने आश्वासन दिए ।

कांग्रसका नेता बस्नेतको समन्वयमा संसदीय दलले सहयोग गरेको कांग्रेस नेता युधिर पौड्यालले बताएका छन् ।

तातोपानी क्षेत्रमा बाढीपहिरोपीडितलाई बाहिरबाट राहत लिएर जान अफ्ट्यारो थियो । यो अफ्ट्यारोका बाबजुद केही राहत उपलब्ध गराइएको छ ।

Published : Thursday, 2020 July 16, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया