देउवाविरुद्ध पौडेल–कोइरालाले दिए उजुरी, अनामनगर भेलापछि कांग्रेसभित्र भाँडभैलो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादबले सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी दिएका छन् ।

पौडेल, डा.कोइराला र यादबले बिहीबार केन्द्रीय निर्वाचन समितिमा देउवाविरुद्ध उजुरी दिएका हुन् । उनीहरूले उजुरीको बोधार्थ सभापति देउवालाई दिएका छन् ।

देउवाले महाधिवेशनलाई प्रभावित गर्ने उद्देश्यले विभाग गठन र सदस्यहरू मनोनयन गरेको समितिमा उजुरी दिएको जनाएका छन् ।

महाधिवेशन भएको ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभागहरू अर्को महाधिवेशनको प्रक्रिया शुरु भइसकेपछि गठन गर्नु विधान र निर्वाचन आचारसंहिताको उल्लंघन भएको दाबी गरेका छन् ।

‘निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिता विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पर्ने दुराशयबाट समेत प्रेरित भएको हुँदा तत्काल रोक्न र बदर गर्न गराउन पार्टी सभापति र निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’, देउवाविरुद्धको उजुरीमा भनिएको छ ।

विधि र पद्धति मिचेर गठन भएका विभागहरु अस्वीकार गर्ने पौडेल, डा.कोइराला र यादबले बताएका छन् ।

उनीहरूले यस्ता मनोनयन र नियुक्तिहरू स्वीकार नगर्न सम्पूर्ण तहका नेता कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

पुसमा कांग्रेस केन्द्रीय कार्यसमितिले बहुमतबाट विभागहरू बढाउने निर्णय गरेको थियो ।

महाधिवेशनको कार्यतालिकाबारे संस्थापन र पौडेल समूहबीच सहमति भएपनि विभागबारे विवाद कायमै थियो ।

देउवाले आफू निकटका नेताहरूलाई विभाग प्रमुख र सदस्यहरू मनोनीत गर्दै आएका छन् । तरुण विभाग र खेलकुद विभागले आफ्नो कामलाई अगाडि बढाइसकेको छ ।

विभागहरू गठन भएपछि नेता तथा कार्यकर्ताहरूमा नयाँ उर्जा थपिएका बेला पौडेल र कोइराला समूहले कांग्रेसभित्र बखेडा निकालेका छन् ।

विभागमा बस्न पौडेल, कोइराला समूहकै नेताहरूको ताछाडमछाड भएको छ ।

बुधबार अनामनगरमा बसेको पौडेल समूहको गोप्य भेलाले सभापति देउवाको विरोध गर्नुका साथै वार्ता गर्न पौडेल, डा.कोइराला र यादबको तीन सदस्यीय वार्ता टोली समेत गठन गरेकोे थियो ।

Published : Thursday, 2020 July 16, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया