डा.श्रेष्ठद्वारा दाङ्गको बंगलाचुलीमा स्वास्थ्य सामग्री प्रदान

लण्डन । बेलायतमा बसोबास गर्ने वरिष्ठ चिकित्सक डा. भरतराज श्रेष्ठले आफ्नो जन्मभूमि दाङ्गको बंगलाचुली गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्रीहरू प्रदान गरेका छन् ।

घोराही उपमहानगरपालिका १५ भरतपुर घर भै हाल बेलायतको प्लीमथमा बसोबास गर्नुहुने डा.श्रेष्ठले आफ्नी स्वर्गीय माता बिष्णुकुमारी श्रेष्ठको स्मृतिमा बंगलाचुली गाउँपालिकालाई सहयोग गरेका हुन् ।

उनले टावेल ७५ थान, पाउडर दूध १० किलो, नुहाउने साबुन ५७ पिस, कपडा धुने साबुन ७५ पिस, सर्जिकल मास्क २०० पिस, अपरेशन थियटर क्याप १०० पिस, गाउन ४ थान, स्यानीटाइजर ७५ थान, १ किलोको च्यवनप्राश ७५ पिस, बिस्किट १५० प्याकेट लगायतका सामग्रीहरु गाउँपालिकालाई उपलब्ध गराएका छन् ।

डा.श्रेष्ठले पठाएको सहयोग उनका दाई ध्रुबकुमार श्रेष्ठले बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीलाई हस्तान्तरण गरेका थिए ।

ती स्वास्थ्य सामग्री भरतपुरस्थित आइसोलेशन सेन्टरमा बसेका व्यक्तिहरूको प्रयोगका लागि वितरण गरिने ओलीले बताए ।

उनले उक्त सहयोग उपलब्ध गराउने डा. श्रेष्ठ र उनको परिवारलाई धन्यवाद पनि दिएका छन् ।

डा.श्रेष्ठ र उनको परिवारले नेपालको प्रशिद्ध तीर्थस्थल स्वर्गद्वारी तथा दाङ्ग जिल्लाको चर्चित पर्यटकीय तथा धार्मिक स्थल पाण्डवेश्वर मन्दिर धारपानीमा आफ्ना स्वर्गीय पिता भुपेन्द्रश्वर श्रेष्ठ तथा माताको सम्झनामा अतिथि गृह (धर्मशाला)हरू निर्माण गरेको छ ।

वरिष्ठ नेत्र सर्जन डा.श्रेष्ठले आफ्नी श्रीमती वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. रेखा श्रेष्ठ सहित दाङ जिल्लामा निशुल्क स्वास्थ्य शिविरहरू पनि सञ्चालन गरेका थिए ।

‘नेपालमा कोरोना कहर बढ्दै गइरहेका बेला सानो भए पनि सहयोग गर्न पाएकोमा मलाई खुसी लागेको छ’, डा.श्रेष्ठले भने ।

Published : Sunday, 2020 July 12, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया