ललितपुरमा कम्युनिस्ट वडाध्यक्षद्वारा मिर्गौला तस्करी, कांग्रेस सभापति अमात्यद्वारा कारबाहीको माग

लगनखेल । नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले मिर्गौला तस्करीमा संलग्नहरूलाई कारबाहीको माग गरेका छन् ।

सभापति अमात्यले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेखेर मिर्गौला तस्तरीमा ललितपुरको ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष श्री गोपाल महर्जनको संलग्नता रहेको भए हदैसम्मको कानूनी कारबाहीको माग गरेका हुन् ।

प्रहरीले चितवनमा रहेको कलेज अफ मेडिकल साइन्सेसका तीन जना चिकित्सक तथा एक जना कानूनी सल्लाहकार तथा ललितपुर महानगरपालिकाका वडाध्यक्ष महर्जनलाई पक्राउ गरेको थियो ।

‘यदि यो कुरा सत्य हो भन्ने अपराधीहरूलाई कसैले पनि बचाउन कोसिस गर्नु हुँदैन’, अमात्यले भनेका छन्, ‘यसले प्रतिनिधिहरूको अवमूल्यन गर्नेछ । म पनि एउटा जनप्रतिनिधि हुँ त्यसैले मलाई धेरै दुःख लागेको छ ।’

‘जनताले जनप्रतिनिधिहरूलाई विश्वास गर्ने छैन जनतामाथि बेइमानी गर्नु हुन्न’, अमात्यले भने, ‘हामीले जनतालाई धोखा दिने काम गर्नुहुन्न हामी जनताप्रति उत्तरदायी बन्नु पर्दछ कानूनसम्मत रुपले काम गर्नु पर्दछ ।’

‘प्रजातन्त्रमा कानूनभन्दामाथि कोही हुँदैन अझ जनप्रतिनिधि उत्तरदायी भएर कानून सम्वत रूपले जनताले पनि बुझ्ने किसिमले काम गर्नुपर्छ’, उनले भनेका छन्, ‘जनताले पनि कानून विपरित काम नगरोस् । यो जनप्रतिनिधिहरूको दायित्व हो ।’

‘मलाई धेरै दुःख लागेको छ । म मर्माहत भएको छु । राम्रोसँग छानबिन गरेर निर्दोषमाथि कुनै किसिमको सजाय हुने काम नगरियोस्’, कांग्रेस सभापति अमात्यले भने, ‘दोषीमाथि कडाभन्दा कडा कारवाही गरियोस् ।’

ललितपुर महानगरपालिकाको वडा नम्बर ३ का नेकपाबाट निर्वाचित वडाध्यक्ष श्रीगोपाल महर्जनले मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएर सिफारिस गरिदिएका थिए ।

वडाध्यक्ष महर्जन नेकपाबाट निर्वाचित प्रतिनिधि सभाका सांसद पम्फा भुसाल र नवराज सिलवालका नजिकका वडाध्यक्ष हुन् । वडाध्यक्ष महर्जनलाई कम्युनिस्ट सांसद भुसाल र सिलवालले संरक्षण गर्दै आएको आरोप लागेका बेला मिर्गौला बेचबिखन काण्डमा पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले चिकित्सकहरू डा. राकेशकुमार वर्मा, डा. सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेती तथा अस्पतालका कानूनी सल्लाहकार रमेश काफ्लेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय, चितवनका अधिकृत रामचन्द्र ढकाल पनि रहेका छन् । ललितपुरका एक व्यक्तिको कलेज अफ मेडिकल साइन्सेसमा मिर्गौला प्रत्यारोपण गरिएका थिए ।

भोजपुरका व्यक्तिले मिर्गौला दिएका थिए । नजिकको नातेदारले मात्रै मिर्गौला दिन पाउने भए पनि उनलाई नातेदार भएको नक्कली कागजपत्र बनाएर प्रत्यारोपण गरिएको प्रहरीको भनाइ छ ।

वडाध्यक्ष महर्जनले नाता नै नपर्ने व्यक्तिलाई नाता प्रमाणित गरेको र अधिकृत ढकालले मिर्गौला प्रत्यारोपणमा कागजपत्र र मान्छे प्रमाणित गर्दा अनियमितता गरेको प्रहरी आरोप छ ।

सुरुवातमा यसबापत मिर्गौला प्रत्यारोपण गर्ने व्यक्तिले २५ लाख रुपियाँ खर्च गरेका थिए । त्यसमध्ये १० लाख मिर्गौला दिने व्यक्तिलाई दिइने बताइए पनि उनले दुई लाख रुपियाँ मात्र पाएका थिए ।

त्यसपछि पीडित व्यक्तिले प्रहरीमा उजुरी गरेका थिए । पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले बताएका छन् ।

Published : Sunday, 2020 July 12, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया