कांग्रेसद्वारा यातायात व्यावसायी, पर्यटन व्यावसायी र चेम्बरका प्रतिनिधिहरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसले यातायात व्यवसायीसहित विभिन्न पक्षहरूको समस्याका विषयमा सरोकारवालाहरूसँग परामर्श गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार कांग्रेसको ‘कोरोना अनुगमन समिति’ले यातायात व्यवसायीहरूसँग कोरोना महामारी र लकडाउनबाट भएको समस्याका बारेमा छलफल गरेको हो ।

समितिका संयोजक एवम् कांग्रेसका सह–महामन्त्री डा.महतले देशको मेरुदण्ड अर्थ व्यवसस्थालाई सहयोग गरिरहेका विभिन्न पेशा व्यवसाय सञ्चालन गरेका व्यवसायीहरूको पीरमर्का सरकारले नबुझेको भन्दै चिन्ता जनाए । उनले देशलाई सहि बाटोमा लैजान सबैको सहयोग आवश्यक रहेको भन्दै व्यवसायीहरूका समस्या सुन्नुपर्ने बताए । उनले कांग्रेसले

सबैका सुझाव र सल्लाहहरू संकलन गरेर कार्यान्वनका लागि सरकारलाई दवाव दिने बताएका छन् । यातायात व्यवसायीहरूले समिति समक्ष आफ्ना गुनासाहरू सुनाएका थिए ।

विभिन्न समूह र क्षेत्रसँग समस्याका बारेमा छलफल गर्दै आएको समितिले शुक्रबार नेपाल यातायात व्यावसायी महासंघको प्रतिनिधिहरूसँग छलफल गरेको हो ।

यातायात व्यावसायीहरूले सवारी साधनहरू महिनौंसम्म ग्यारेजमा थन्काएको भन्दै ती सवारी साधनहरू मर्मत गरेर मात्रै चलाउन सकिने बताए । त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने व्यवसायीहरूले बताएका छन् ।

मर्मतका लागि पुनः कर्जा, गाडी चालक र सह–चालकलाई कोरोना बीमा, गाडी चालक र सह–चालकलाई स्वास्थ्य सामग्रीको व्यवस्था सरकारले गरिदिनुपर्ने माग व्यवसायीहरूले गरेका छन् ।

ती आधारभूत कुरा सरकारले पूरा गरेपछि मात्रै सार्वजनिक सवारी साधनहरू चलाउन सकिने व्यवसायीहरूको भनाइ छ ।

व्यवसायीहरूले लकडाउनको समयका बेलाको किस्ता स्थगन गर्नुपर्ने माग कांग्रेस समक्ष राखेका छन् ।

यसअघि, समितिले विभिन्न चेम्बरमा आवद्ध व्यवसायीहरूका प्रतिनिधिहरूसँग छलफल गरेको थियो ।

छलफलमा व्यवसायीहरूले असार मसान्तसम्मको बैंकको ब्याज र किस्ता तिरिसक्नुपर्ने अवस्था रहेको भन्दै मौद्रिक नीति साउन ७ गते किन ल्याएको भनेर प्रश्न गरेका थिए ।

नेपाल ट्रेड युनियन कांग्रेसका सदस्यहरूले सरकारको नीतिले धेरै समस्या भएको बताएका थिए ।

कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिले नेपालमा क्रियाशील पर्यटन ब्यवसायीहरूसँग पनि कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावबारे पनि छलफल गरेको छ ।

छलफलमा पर्यटन व्यावसायीहरूले प्रधानमन्त्री राहत कोषलाई पर्यटन प्रर्द्धनमा खर्च गर्न सरकारलाई सुझाव दिन समितिका संयोजक एवम् सह–महामन्त्री डा.महतलाई आग्रह गरेका छन् ।

पर्यटन व्यवसायीहरूले कोभिड–१९ को प्रभाव यही अवस्थामा अझै एक महिना लम्बिने भन्दै सरकारले पर्यटन क्षेत्रका लागि राहत कार्यक्रम ल्याउनु पर्ने माग गरे । अन्यथा पर्यटन व्यावसायीहरूले आत्महत्या गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।

सरकारले अब चार/पाच दिनमा पर्यटन क्षेत्रमा सुधारका निम्ति कदम नचाले आफूहरू सडक आन्दोलनमा जाने तयारी गरेको पर्यटन व्यावसायीहरूले कांग्रेसको कोरोना अनुगमन समिति समक्ष सुनाए ।

Published : Saturday, 2020 July 11, 9:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया