कांग्रेसको सम्पर्क समितिद्वारा गुल्मीका १७२ पहिरो पीडितलाई खाद्यान्न हस्तान्तरण

तम्घास । नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिले गुल्मी जिल्लामा पहिरोका कारण समस्यामा परेका १७२ घरपरिवारलाई खाद्य सामग्री उपलब्ध गराएको छ ।

सम्पर्क समितिअन्तर्गको विपत व्यवस्थापन समितिले शुक्रबार प्रभावित क्षेत्रमा पुगेर खाद्य सामग्री हस्तान्तरण गरेको हो ।

राहत सामग्री लिएर काठमाडौंबाट सम्पर्क समितिका परशुराम घिमिरे, कृष्णप्रसाद खरेल र विष्णु केसीको टोली गुल्मी आइपुगेको थियो । नेपाली कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठसँगको समन्वयमा खाद्य सामग्रीहरू स्थानीय जनप्रतिनिधिलगायतको उपस्थितिमा उपलब्ध गराइएको जानकारी दिइएको छ ।

असार १८ गते गुल्मी जिल्लाको इस्मा गाउँपालिका र मुसीकोट नगरपालिकाअन्तर्गत पर्ने हस्तीचौरको मल्दी, तोरीबारी, जुकेपानी, निस्ती दलुङ, पोखरेल टोलमा आएको भिषण पहिरोका कारण करीव १७२ घरपरवार प्रभावित बनेका थिए । ती परिवारहरूलाई कांग्रेसले राहत स्वरुप शुक्रबार खान्न वितरण गरिएको हो ।

काठमाडौंबाट आएको टोली वर्षा र सडक भत्किएका कारण प्रभावित स्थानसम्म पुग्न सकेन । सम्पर्क समितिले पहिरो प्रभावितहरूलाई राहतका निम्ति गल्मी कांग्रेसका कोषाध्यक्ष हरि केसीको संयोजकत्वमा गठित समितिमार्फत खाद्यान्न पुर्‍याउनेछ । सो समितिमा स्थानीय रेडक्रस सोसाइटी, सम्बन्धति वडाका वडाध्यक्ष तथा स्थानीय विद्यालयका प्रधानाध्यापक रहेका छन् ।

सोही समितिलाई सम्पर्क समितिले खाद्यान्न हस्तान्तरण गरेको छ ।

मौसम सामान्य भएपछि प्रत्येक घरकुरियासम्म विपत व्यवस्थापन समितिले उपलब्ध गराएको खाद्य सामग्री पुर्‍याउने जिम्मा दिइएको गुल्मी कांग्रेसले जनाएको छ ।

गुल्मी कांग्रेसको सम्पर्क समितिले प्रत्येक घरकुरियाका लागि २५ किलोको एक बोरा चामलसहितका खाद्य सामग्री उपलब्ध गराएको छ ।

पहिरोमा १८ महिनाको बालक सिजन सारु र आठ वर्षीया भूमिका खत्रीको पुरिएर निधन भएको थियो । मुसकिोट निस्मी दलुङका भगिरथ घिमिरे पहिरोमै पुरिएका छन् । घिमिरे हालसम्म फेला परेका छैनन् । पहिराेमा परेर ज्यान गुमाएका तीन जनाकाे परिवारलाई सम्पर्क समितिले जनही पाँच/पाँच हजारका दरले सहयाेग समेत गरेकाे छ ।

मुसीकोट नगरपालिका वडा नम्बर २ की तारा कुमाललाई १८ घण्टापछि जीवित उद्धार गरिएको थियो ।

सम्पर्क समितिको राहत वितरणमा खटिएका सम्पर्क समितिका उपाध्यक्ष कृष्णप्रसाद खरेल, कांग्रेस नेता परशुराम घिमिरे र इश्मा गाउँपालिकाका संयोजक विष्णु केसीसहित कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, गुल्मी कांग्रेसका पूर्व जिल्ला सभापति त्रैलोक्यप्रताप सेन, नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार शालिकराम पन्थी, पार्टीका जिल्ला कोषाध्यक्ष हरिबहादुर केसी, क्षेत्रीय सभापति पूर्ण केसी, महासमिति सदस्य महेन्द्र भण्डारी, सन्तोष पाण्डेलगायतले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेका थिए ।

सम्पर्क समितिको विपत व्यवस्थापन समितिले काठमाडौंमा बस्ने गुल्मीका आपतमा परेका मानिसहरूको सेवा पुर्‍याउनुका साथै जिल्लास्थित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतलाई स्वास्थ्य सामग्री यसअघि दिइसकेको छ । समस्यामा परेका गुल्मेलीहरूले समितिलाई भन्नेवित्तिकै उद्धार र राहत प्रदान गर्दै आएको छ ।

विपत व्यवस्थापन समितिको संयोजकमा कांग्रेस नेता योगराज कँडेल रहेका छन् ।

Published : Friday, 2020 July 10, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया