सिन्धुपाल्चोक तरुण दलद्वारा उद्धार र क्षतिपूर्तिका लागि अपील, उद्धारमा आफै खटिए

काठमाडौं । नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले भोटेकोशी नदी र सहायक खहरे खोलामा आएको बाढीले भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

सिन्धुपाल्चोक तरुण दलका अध्यक्ष दोर्जे लामाले बिहीबार विज्ञप्ति जारी गरेर सिन्धुपाल्चोकको बाढी र पहिरोबाट भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । उनले उद्धार र राहतका लागि अपील समेत गरेका छन् ।

‘अविरल वर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण जम्बु बजार, खगदल, खुर्सानी बारी, चाकु बजार, बाह्रबिसे र त्यस क्षेत्रमा ठूलो जनधनको क्षति भएको हुँदा नेपाल तरुण दल सिन्धुपाल्चोक दुःख व्यक्त गर्दछौं’, अध्यक्ष लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘उक्त क्षेत्रमा बाढी, पहिरो आउने क्रम नरोकिएको हुनाले जोखिममा रहेका वस्ती र व्यक्तिहरूको उद्धार, सुरक्षित स्थानान्तरण, उचित क्षतिपूर्ति, बेपत्ताहरूको यथाशीघ्र खोजी कार्य र घाइतेहरूको उपचार गर्नको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं’, लामाले भनेका छन् ।

‘प्राकृतिक विपत्तिको घडीमा सुरक्षित र सजग रहन त्यस क्षेत्रको बासिन्दाहरूलाई अनुरोध गर्दछौँ’, तरुण अध्यक्ष लामाले भनेका छन्, ‘उक्त घटनामा ज्यान गुमाउनेहरूको आत्माको चीर शान्तिको कामना गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्ति गर्दछौँ ।’

सिन्धुपाल्चोक तरुण दलले बिहीबार दिनभरि सुरक्षाकर्मी र स्थानीयहरूसँग मिलेर उद्धार कार्यमा सक्रिय भएको थियो ।

Published : Friday, 2020 July 10, 12:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया