अध्यक्षको निर्देशनपछि सिन्धुपाल्चोकमा तरुणद्वारा उद्धार, निजी खर्चमा हेलिकप्टर परिचालन

काठमाडौं । नेपाल तरुण दलले अविरल वर्षाका कारण भोटेकोशी नदीमा मिसिने सहायक खोलाहरूमा आएको बाढबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बिहीबार विज्ञप्ति जारी गरेर सिन्धुपाल्चोक जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । उनले बाढी र पहिरोमा परेकाहरूको उद्धार तथा राहतमा खटिन स्थानीय तरुण नेताहरूलाई निर्देशन दिएका छन् ।

‘अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक जिल्लाका चाकुबजार, जबमु बजार, खुर्सानीबारी र बाह्रबिसे लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति नेपाली तरुण दल गहिरो दुःख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘अझै पनि उक्त क्षेत्रमा बाढी, पहिरो आउने क्रम रोकिएको छैन’, अध्यक्ष बस्नेतले भनेका छन्, ‘त्यसैले जोखिममा रहेका बस्ती र व्यक्तिहरूको उद्धार र सुरक्षित स्थानान्तरण, पीडितहरूलाई उचित क्षतिपूर्ति, बेपत्ताहरूको यथाशीघ्र खोजी कार्य, घाइतेहरूको उपचार गर्नका लागि सरकार समक्ष जोडदार माग गर्दछौं ।’

अध्यक्ष बस्नेतले तरुण दलका स्थानीयस्तरका साथीहरूलाई आ–आफ्नो ठाउँबाट उद्धार, राहत वितरण कार्यमा जुट्न निर्देशन दिएका छन् ।

उक्त घटनामा ज्यान गुमाउनेहरूको आत्माको चीर शान्तिको कामना गर्दै बस्नेतले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

सिन्धुपाल्चोकमा बिहीबार बिहान सुनकोशी नदीहरूमा मिसिने खोलाहरूमा बाढी र पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने बीस जना बेपत्ता भएका छन् । बीसभन्दा धेरै घरहरू बगाएको छ । पाँच जना घाइते भएका छन् ।

तरुणद्वारा उद्धार

तरुण दलको निर्देशनपछि सिन्धुपाल्चोकका तरुणहरूले बाढी र पहिरोमा परेकाहरूको उद्धार गरेका छन् । तरुणहरू आफै मैदानमा खटिएर सुरक्षाकर्मीहरूसँग मिलेर पहिरोमा परेकाहरूको उद्धार गरेका हुन् ।

सिन्धुपाल्चोक तरुण दलका अध्यक्ष दोर्जे लामा, तरुण विभागका सदस्य पासाङ नुर्पु शेर्पाले घाइतेहरूको हेलिकप्टरबाट उद्धार गरेका थिए । हेलिकप्टरको खर्च तरुण नेताहरूले नै व्यहोरेका छन् ।

Published : Thursday, 2020 July 9, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया