गोल्डस्टारद्वारा पीपीई र मास्क उत्पादन

काठमाडौं । नेपालको चर्चित जुत्ता गोल्डस्टार उत्पादन कम्पनीले नेपालमै पीपीई र मास्कको उत्पादन सुरू गरेको छ ।

गोल्डस्टारले विश्वव्यापी महामारी कोभिड १९ नियन्त्रणमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नेपालमै अन्तर्राष्ट्रिय गुणस्तरको पीपीई र मास्क उत्पादन सुरु गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका अनुसार पीपीई र मास्क उत्पादन भइरहेको कम्पनीका बजार प्रवन्धक इरज श्रेष्ठले जानकारी दिए । उनका अनुसार चिकित्सकका लागि सर्जिकल मास्कका साथै एन ९५ मास्क कम्पनीले उत्पादन गरिरहेको छ । मल्टीगार्ड टेक कम्पनी अन्तर्गत विक्री भइरहेको गोल्डस्टारले जानकारी दिएको छ ।

मल्टीगार्डले पीपीई उत्पादनका लागि त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)बाट प्रमाणीकरण गरी उत्पादन सुचारू गरेको छ ।

‘विश्वस्तरीय पीपीई निर्माणका लागि थुप्रै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । उत्पादनमा प्रयोग हुने सामग्रीमा नाक, मुखबाट निस्किने सानासाना कणसम्मलाई रोक्न सक्ने क्षमता हुनैपर्छ ।

हामीले ती सम्पूर्ण मापदण्डहरूलाई आत्मसात गरेका छौँ’, कम्पनी प्रमुख विदुषी राणाले भनिन्, ‘कोरोना रोकथामका लागि अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई पीपीईको अभाव नहोस् भनेर हामीले प्रतिकुल परिस्थितिमा पनि गुणस्तरीय उत्पादन सुरु गरेका हौं ।’

उनले नेपालमै गुणस्तरीय पीपीई र मास्क उत्पादन भएपछि बजारमा हुने अभावलाई पूर्ति गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन् । कारखानाभित्र पनि सामाजिक दूरी र सुरक्षाको मापदण्ड पूरा गरी उत्पादन गरिएका यी सामग्रीहरूको निर्माणमा ५० जना महिला कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ ।

यसैबीच कम्पनीले देशभरका विभिन्न अस्पतालालाई पीपीईसहित ६ हजार मास्क वितरण गरेको छ । बिहीबार कम्पनीले ललितपुरको लगनखेलस्थित पाटन अस्पताललाई ४०० पिस मास्क उपलब्ध गराएको छ । यसअघि कम्पनीले पाँच हजार पिस मेरो मास्क चिकित्सक भगवान कोइरालामार्फत् देशका विभिन्न अस्पतालमा सहयोग गरेको छ ।

पाटन अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नका लागि नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले समन्वय गरेका थिए ।

त्यस्तै १०० पिस मास्क नेसनल क्यान्सर अस्पताल र ५०० पिस नेपाल एम्बुलेन्स सेवालाई उपलब्ध गराइएको कम्पनीका बजार प्रवन्धक श्रेष्ठले जानकारी दिए ।

Published : Thursday, 2020 July 9, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया