उद्धार र राहतमा खटिन सिन्धुपाल्चोक कांग्रेसलाई देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक जिल्लामा बाढी, पहिरोका कारण भएको मानवीय र जनधनको क्षतिप्रति दुःख व्यक्ति गर्दै उद्धारका लागि अपील गरेका छन् ।

सभापति देउवाले बिहीबार बिहान विज्ञप्ति जारी गरेर पहिरोमा परेर हराइरहेकाहरूको तत्काल उद्धार गर्न माग गरेका छन् । उनले घाइतेहरूको उपचारका लागि आग्रह गरेका छन् ।

बुधबार मध्यरातमा सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति सभापति देउवाले गहिरो दुःख व्यक्त गरेका हुन् ।

बाढीमा परेर हालसम्म २ जनाको मृत्यु, २ जना गम्भीर घाइते र १४ जना हराइरहेको तथा अरनिको राजमार्ग समेत अवरुद्ध भएको छ ।

यस स्थितिमा तत्काल युद्धस्तरमा उद्दारको कार्य गर्न सभापति देउवाले सरकार समक्ष माग गरेका छन् ।

‘सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गर्नु भएको छभने सिन्धुपाल्चोकका नेपाली कांग्रेस साथीहरूलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्नुभएको छ’, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले बाढीका कारण अमूल्य जीवन गुमाउने दुई नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उनहरूको आत्माको चीरशान्तिको कामना गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘वर्षाको समयमा हरेक वर्षझैँ यो वर्ष पनि बाढी पहिरोको घटना विकराल बन्न सक्ने स्थिति दृष्टीगत गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असार २२ गते बसेको बैठकले यसबारे विपत ब्यवस्थापनको उच्च स्तरीय तयारी प्रारम्भ गर्न सरकारको विशेष ध्यानाकर्षण गराएको थियो र पुनः सरकारको ध्यानाकृष्ट गराउँदछ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Thursday, 2020 July 9, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया