भारतद्वारा मुगुमा चतुर्देव क्याम्पसको भवन निर्माण

मुगु । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत नेपाली रुपियाँ ३५.११ मिलियन लागतमा निर्माण गरिएको मुगु जिल्लाको रातापानीस्थित श्री महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको औपचारिक उद्घाटन भएको छ ।

गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिहरूद्वारा बुधबार भिडियो कन्फरेन्समार्फत उद्घाटन गरिएको छ ।
सन् २००७ मा स्थापना भएको यस क्याम्पस समुदायको स्वामित्वको शैक्षिक संस्थान हो ।

विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट स्वीकृति प्राप्त सो क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्घ रहेको छ ।

क्याम्पसले चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ । हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाविसका विद्यार्थी अध्ययनरत यस क्याम्पसमा योग्य विद्यार्थीका लागि विविध छात्रवृत्तिको व्यवस्था पनि रहेको छ ।

नयाँ प्रशासकीय तथा शैक्षिक भवन निर्माणको कार्यान्वयन जिल्ला समन्वय समितिले गरेको हो ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी भएको जनाएको छ ।

Published : Wednesday, 2020 July 8, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया