कांग्रेस महामन्त्री खड्काद्वारा नेकपाकाे दाबीहरू खारेज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सत्तासँग पार्टीलाई जोडेर गरिएका प्रचारहरू खारेज गरिदिएका छन् ।

महामन्त्री खड्काले मंगलबार ट्वीट गर्दै नेकपाको आन्तरिक विषयमा कांग्रेसलाई अनावश्यक रुपमा जोड्ने कार्यको विरोध गरेका हुन् । उनले जनताले कांग्रेसलाई पाँच वर्षका लागि दिएको म्याण्डेटअनुसार जिम्मेवारी पूरा गर्ने बताएका छन् ।

‘सत्ताधारी नेकपाको आन्तरिक जीवनमा उत्पन्न द्वन्द्वसंग नेपाली कांंग्रेस निरपेक्ष रहेको छ’, महामन्त्री खड्काले भनेका छन्, ‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध छ ।’

‘सत्ताद्वन्द्वसंग नेपाली कांग्रेसलाई जोडेर गरिएका सबैखाले प्रचारहरूलाई कांग्रेस केन्द्रीय कार्यसमिति सम्पूर्ण रुपले खारेज गर्दछ’, खड्काले भनेका छन् ।

उता, नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेकपाको आन्तरिक घर झगडामा कांग्रेस कुनै पनि हालतमा देखिन नहुने बताएका छन् ।

उनले नेकपाले आफ्नो घरको झगडालाई आफै मिलाउनुपर्ने बताए । ‘पार्टीहरू फुट्नु हुँदैन । नेकपाको विवादमा कांग्रेस जान पनि हुँदैन’, उनले भने, ‘कांग्रेसलाई जबरजस्त नेकपाको विवादमा तान्ने प्रयोस गरियो भने दुर्भाग्य हुनेछ ।’

‘नेपाली कांग्रेस अहिले नेकपाको आन्तरिक आपसी झगडामा कतै देखिनु हुन्न’, खतिवडाले भने, ‘हामी आफ्नै भूमिकामा छौं ।’

सत्तारुढ नेकपाका नेताहरू आफू अनुकूल हुने गरी विभिन्न आरोपसहित नेपाली कांग्रेसलाई जोडेपछि कांग्रेसको केन्द्रीय कार्यसमितिबाट निर्णय गरेर सत्तारुढ दलको पछाडि नरहेको जनाइ सकेको छ ।

Published : Tuesday, 2020 July 7, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया