सुवर्ण ज्वारचन कांग्रेसको नयाँ सांसद

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ रिक्त प्रतिनिधिसभा सदस्य पदमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको छ ।

ललितपुरको सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदमा ज्वारचनलाई पठाउने निर्णय गरेको हो । समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको गत बुधबार निधन भएपछि उनको ठाउँ रिक्त थियो ।

कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले समानुपातिकतर्फ रिक्त सदस्य पदमा ज्वारचनलाई पठाउने निर्णय भएको जानकारी दिए ।

निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको महिला (जनजाति) सूचीमा छन्त्यालपछि ज्वारचनको नाम रहेकाले उनैलाई नै सो पदमा पठाउने निर्णय भएको चौधरीले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावलीअनुसार कुनै सांसदको निधन भए बन्दसूचीमा रहेको व्यक्ति नै सांसद हुन्छन् ।

सांसद निधन भएको जानकारी संघीय संसद् सचिवालयले आयोगलाई दिएपछि सोहीअनुसार निर्वाचन आयोगले पत्र पठाएको थियो ।

सांसदको निधन भएकोबारे कांग्रेसले पनि आयोगलाई जानकारी गराएको थियो ।

ज्वारचन २०३६ सालको जनमत संग्रह, सत्याग्रह र जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिँदै कांग्रेसमा सक्रिय राजनीतिमा रहँदै आएकी छन् ।

Published : Tuesday, 2020 July 7, 6:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया