गुल्मीका जनताको दुःखमा मल्हम लगाउँदै कांग्रेस, संकटका बेला सम्पर्क समितिबाट जोडिदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समिति र ‘विपत व्यवस्थापन समिति’ले कोरोना भाइरसको महामारी तथा दैविक प्रकोपको समस्यामा परेका जिल्लाबासीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर परामर्शहरूलाई तीब्रता दिएका छन् ।

सम्पर्क समितिका सभापति ज्ञानबहादुर कार्कीले पूर्व सभापति, वुद्धिजीवी, व्यवसायी, कर्मचारी, शिक्षक, विद्यार्थी, कांग्रेस नेताहरूसँग गुल्मी जिल्लामा भएको विपतमा परेकाहरूलाई कसरी सहयोग गर्ने भनेर छलफल गरेका हुन् ।

गुल्मी जिल्लाबाट राजधानीमा आएर विभिन्न पेशा, व्यवसायहरूमा सक्रिय रहेका कांग्रेस निकटका नेता तथा शुभेच्छुकहरूसँग छलफल गरेर अगाडि बढ्ने प्रयास गरिएको सभापति कार्कीले बताए ।

उनले महामारीका बेला सबै मिलेर विगतको तिक्तताहरू भुलेर एक ठाउँमा जम्मा भएर जिल्लामा सहयोग गर्नुपर्ने बताएका छन् । ‘अहिलेको युवा पुस्ताले कांग्रेसलाई बचाउन सक्छ’, सभापति कार्कीले भने, ‘महामारीका बेला हामीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने हो । सहज अवस्था भएका बेला आफैले गर्न सकिन्छ । संकटका बेला मिलेर जानुपर्छ ।’

लकडाउनका बेला सम्पर्क समितिले विपत व्यवस्थापन समिति बनाएर सोही समितिमार्फत सहयोग गर्दै आएको छ । समितिमा सहयोगहरू पनि जुट्ने गरेको छ ।

समितिको संयोजकको जिम्मेवारी कांग्रेसका युवा नेता योगराज कँडेललाई दिइएको छ । कँडेलले सबैको सहयोग र समन्वयमा समस्यामा परेका गुल्मी जिल्लाका सर्वसाधारणलाई सहयोग गर्दै आएका छन् ।

गुल्मी कांग्रेसलाई बलियो बनाउने तथा सहयोग गर्ने उदेश्यले सभापति कार्कीसहित सम्पर्क समितिका पूर्वसभापति माधव खरेल, नरहरि घिमिरे, ज्ञानबहादुर कार्की, विपत व्यवस्थापन समितिका संयोजक योगराज कँडेल, कांग्रेसका युवा नेता विष्णु पन्थीलगायतले परामर्शहरू गर्दै आएका छन् ।

समितिले गुल्मी जिल्लामा बाढी पहिरोका कारण समस्यामा परेकाहरूलाई सहयोग गर्ने योजना बनाएको छ । त्यसका लागि खाद्यान्नसहितका सामग्रीहरू विपत व्यवस्थापन समितिमार्फत गुल्मी कांग्रेससँग समन्वय गरेर लैजाने तयारी भएको छ ।

बाढी र पहिलोमा परेका ११८ घर परिवारलाई सहयोग गर्ने तयारीमा गुल्मी–कांग्रेस सम्पर्क समिति रहेको छ ।

प्रत्येक दिन जुम मिटिङ

गुल्मी–काठमाडौं सम्पर्क समितिले विपत व्यवस्थापन समितिमार्फत भए गरेका गतिविधिहरूलाई प्रत्येक दिन हुने जुम मिटिङमा जानकारी दिने गरेको छ ।

कांग्रेसका युवा नेता विष्णु पन्थीका अनुसार गुल्मी जिल्लामा कसरी सहयोग, राहत, संगठन निर्माण आदि गर्न सकिन्छ भनेर परामर्शहरू गर्ने गरिएको बताए । उनले गुल्मीका विषयमा जानकारी लिन र चासो रोख्ने कांग्रेसका शुभेच्छुकहरूलाई निमन्त्रणा पनि गरेका छन् ।

समितिले प्रत्येक हप्ताको एक दिन भने विशेषज्ञहरूसँग जुम मिटिङमा कोरोना भाइरसको महामारी, व्यवस्थापन, सहयोग, कृषि, जनस्वास्थ्य लगायतका विषयमा परामर्श गर्ने गरेको छ । अहिलेसम्म समितिले विशेषज्ञहरूलाई राखेर १३ वटा जुम मिटिङ गरिसकेको छ ।

जुम मिटिङमा हरि शर्मा, ललित बस्नेत, डा.सुदर्शन अर्याल, रामप्रसाद ज्ञवाली, डा.शेरबहादुर पुन, डा.बाबुराम मरासिनी, डा.भेषराज पोखरेल, डा.चन्द्रप्रसाद पोखरेललगायतसँग परामर्श भइसकेको छ ।

Published : Monday, 2020 July 6, 2:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया