बाढी, पहिरो र डुवानको क्षति न्यनीकरण गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले वर्षायाम शुरुवात भएसँगै देशभरका विभिन्न स्थानमा भएको अविरल वर्षाको कारण पहाडी भेगमा बाढी र पहिरो तथा तराई क्षेत्रमा डुवानका घटनाहरू भएको भन्दै चिन्ता जनाएको छ ।

संसदीय दलका प्रमुख सचेतक खाँणले आइतबार विज्ञप्ति जारी गरेर यस वर्षको मनसुन शुरु भएदेखि बाढी, पहिरो र डुवान भएको भन्दै सरकारलाई उद्धार तथा राहतमा ध्यान दिन आग्रह गरेका हुन् ।

उनले बाढी, पहिरो र डुवानका कारण बझाङ्ग, पाल्पा, गुल्मी, स्याङ्जा, गोरखा, लमजुङ्ग, दार्चुला र सल्यान लगायतका स्थानमा हालसम्म करीब दुई दर्जन व्यक्तिले ज्यान गुमाइ सकेको बताएका छन् । केही व्यक्तिहरू घाइते र वेपत्ता रहेको भन्दै उनले दर्जनौं घरहरूलाई क्षति पुर्‍याएको जनाए ।

‘मुलुकभर भइरहेको बाढी, पहिरो र डुवानका दुःखद घटनाप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपालमा केही समय मनसुन अझ सक्रिय हुने भएकोले भाविष्यमा अझ बढी बाढी, पहिरोको तथा डुवानको उच्च जोखिम रहेकोले जोखिमयुक्त स्थानहरूलाई पहिचान गरी त्यहाँका नागरिकहरूलाई तत्काल अन्यत्र सुरक्षित स्थानमा व्यस्थापन गरी जनताको जीउधनको सुरक्षाका लागि सरकार तथा सम्बन्धित पक्ष समक्ष नेपाली कांग्रेस संसदीय दल आग्रह गर्दछ’, प्रमुख सचेतक खाँणले भनेका छन् ।

‘क्षति न्यूनीकरणका लागि तत्काल उद्दार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न सरकार समक्ष माग गर्दछ’, उनले भनेका छन् ।

‘बाढी, पहिरो र डुवानमा वेपत्ता भएका व्यक्तिको तत्काल खोजी गरी उद्दार गर्न, घाइतेहरूको स्वास्थ्य उपचार र विस्थापित भएका घरपरिवारहरूलाई सुरक्षित स्थानमा पुनस्र्थापन गरी राहत विवरणका साथै मृत्यु भएका घरपरिवारहरुलाई उचित क्षतिपूर्ति दिन नेपाल सरकारसँग कांग्रेस संसदीय दल माग गर्दछ’, खाँणले भनेका छन् ।

‘बाढी, पहिरो तथा र डुवानमा परी घाइते हुनु भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जीवन गुमाउनु भएकाहरूप्रति नेपाली कांग्रेस संसदीय दल भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले मृतक परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

Published : Sunday, 2020 July 5, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया