ढलको कोरोना भाइरस अन्य व्यक्तिमा सर्दैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा देखिएको कोरोना भाइरसले अन्य व्यक्तिमा संक्रमण नसार्ने जनाएको छ ।

प्रवक्ता डा.जागेश्वर गौतमले ढलको पानीबाट आजसम्म कुनै पनि अध्ययनले संक्रमण अरूमा सरेको तथ्य नभएको बताए । उनले राजधानीको ढलको नमूना परीक्षण गर्दा कोरोना देखिएको कुरा बाहिर आएको समाचारको खण्डन गरे ।

उनले हालसम्म विश्वमा भएका अध्ययनले संक्रमणबाट निको भइरसकेको व्यक्तिमा पनि भाइरसको टुक्राटुक्री भेटिएको भएपनि त्यो रोग नसार्ने खालको रहेको बताए ।

डा. गौतमले कोरोना भाइरस सामान्य तापक्रमको पानीमा वा फोहोर पानी वा अस्पतालबाट निस्किने ढलमा दुई दिनसम्म बाँच्ने बताए ।

त्यसैले ढलमा कोरोना भटियो भन्दै संक्रमण समुदायस्तरमा फैलिएर जटिल भएको भन्न नहुने उनको भनाइ छ ।

यसबाट संक्रमण अरूमा नसर्ने भएपनि सरसफाइमा काम गर्न व्यक्तिहरूले सुरक्षा सामग्री लगाउनुपर्ने मन्त्रालयको सुझाव छ ।

एक निजी प्रयोगशालाले उपत्यकाको चार ठाउँको ढलको नमूना परीक्षण गर्दा दुई ठाउँमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ ।

Published : Sunday, 2020 July 5, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया