वैदेशिक रोजगार व्यवसायीहरू आन्दोलनमा जाने, नवीकरणमा दवाव दिने

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरू कम्पनी नवीकरणको व्यवस्था खुलाउन माग गरेर आन्दोलनको तयारी गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ५१३ कम्पनी नवीकरण गर्न माग गर्दै आन्दोलनको अन्तिम तयारी गरेका हुन् ।

संघका अध्यक्ष विष्णुप्रसाद गैरेले सोमबारको मन्त्रिपरिषदबाट व्यवसायीहरूको मागको सुनुवाइ हुने जानकारी आएको बताए ।

‘सोमबार मन्त्रिपरिषद बैठकबाट कम्पनी नवीकरण गर्ने बाटो खोल्ने तयारी मन्त्रालयबाट भइरहेको जानकारी पाएका छौँ’, अध्यक्ष गैरेले भने, ‘सोमबार कुनै निर्णय भएन भने मंगलबारबाट सरकारलाई दवाव दिन धर्ना, घेरोउ, प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारीमा व्यवसायी साथीहरू छौँ ।’

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले व्यवसायीहरूका कम्पनीहरू नवीकरणमा समस्या भएपछि दवाव दिन आफूहरू लागेको बताए ।

उनले कम्पनी नवीकरणमा देखिएको समस्या फुकाउन कांग्रेस नेताहरूले प्रधानमन्त्री, अर्थमन्त्री र श्रम मन्त्रीसँग आग्रह गरिसकेको जानकारी दिँदै छिटो समस्याको समाधान हुनुपर्ने बताए ।

वैदेशिक रोजगार व्यवसायीहरूलाई नयाँ व्यवस्थाअनुसार कम्पनी नवीकरण गर्न वर्षमा न्युनतम एक सय कामदार पठाउनुपर्छ ।

कोरोना भाइरसको महामारी र लकडाउनले गर्दा व्यवसायीहरूले एक सय कामदार रोजगारीमा पठाउन सकेका छैनन् ।

कांग्रेस निकटका व्यवसायीहरूले नवीकरणमा समस्या आएपछि कांग्रेस नेताहरूमार्फत लविङ गरेका थिए ।

Published : Sunday, 2020 July 5, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया