फुटको संघारमा रहेका बेला धादिङ नेकपाभित्र पहिराे गयाे, नेता-कार्यकर्ता कांग्रेसमा प्रवेश

धादिङ । धादिङ जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नीलकण्ठ नगरपालिका–२, जुङेमा आयोजित विशेष कार्यक्रममा नेकपाका ८० जना स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई धादिङ कांग्रेसका सभापति रमेश धमला, पूर्वसांसद रामनाथ अधिकारीसहितका नेताहरूले पार्टी प्रवेश गराएका छन् । कांग्रेस प्रवेश गरेका नेकपाका नेता तथा कार्यकर्ताहरूलाई योग्यता र क्षमताअनुसार पार्टीमा जिम्मेवारी दिइने सभापति धमलाले बताएका छन् ।

नेकपाका कांग्रेस प्रवेश गर्नेहरूमा अधिकांश युवाहरू छन् । जनताले कम्युनिस्टलाई विश्वास गरेर मत दिएकोमा नेकपाका नेताहरू व्यक्तिगत स्वार्थमा लागेर देश र जनतालाई धोका दिएको उनीहरूले आरोप लगाएका छन् ।

कार्यक्रममा पूर्व पार्टी सभापति एवम् पूर्वसांसद रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना, कांग्रेसका महासमिति सदस्य कल्पना अधिकारी, नगरपालिकाको वडा नं.३ का अध्यक्ष होमनाथ रिजाल, कांग्रेसका नीलकण्ठ नगरसभापति शम्भुसिंह ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

केन्द्रमा नेकपाका नेताहरू सत्ता स्वार्थमा विवाद गरेर पार्टी विभाजनको खेलमा लागेका बेला धादिङमा झण्डै एक सय स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Sunday, 2020 July 5, 8:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया