भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो नै कम्युनिष्टको समाजवादः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरूले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर समाधान दिन कहिल्यै नसक्ने टिप्पणी गरेका छन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बागमती प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरूसंग गरेको छलफलमा उनले विश्वमा कम्युनिष्टहरू हल्ला मच्याउने समस्या उत्पन्न गर्ने तर, समाधान दिन नसक्ने पुष्टि भइसकेको बताए ।

उनले नेपालमा पनि कम्युनिष्टहरूले समस्या उत्पन्न गरेर समाधान गर्न नसक्नु कुरालाई पुष्टि गरेको बताए ।

पौडेलले कम्युनिष्टहरू मुलुकका समस्या समाधान गर्ने बाटोमा प्रवेश गर्न नसकेको बताउँदै अहिले कम्युनिष्टहरूले पाएको झण्डै दुईतिहाइको जनमत मुलुकका लागि नै दुर्भाग्यपूर्ण हुनेमा आशंका जनाए ।

कांग्रेस नेता पौडेलले दुईतिहाई नजिकको बहुमत मुलुकको समस्या समाधान गर्नका लागि सहयोगी हुनुपर्नेमा परिवर्तन संस्थागत गर्न र विकासको गति अगाडि बढाउनका लागि कम्युनिष्टहरूले पाएको दुईतिहाई मत समस्या बन्ने हो कि भन्ने आम नागरिकमा शंका उत्पन्न भएको बताए ।

पौडेलले मुलुकमा संकट परेका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु नै कम्युनिष्टहरूको वैज्ञानिक समाजवाद हो भनि प्रश्न समेत गरेका छन् ।

विश्वका पुँजीवादी देशहरू र कम्युनिष्ट देशहरू पनि उपभोक्तावादी भइसकेको भन्दै उनले विश्वमा देखिएको समस्या नै पुँजीवाद र साम्यवादले नभई प्रजातान्त्रिक समाजवादले समाधान गर्ने पौडेलको भनाई थियो ।

पौडेलले गान्धीवाद समाजवाद नभएपनि गान्धीवादमा आधारित समाजवादले विश्वालाई जोगाउने तर्क गरेका छन् ।

पौडेलले पुँजीवादीहरू राज्यका सबै दायित्व व्यापारीलाई सुम्पेको र कम्युनिष्टहरूले जनतालाई दबाएर बन्द संस्कृति सृजना गरेकाले समस्या देखिएको बताए ।

पौडेलले कांग्रेसले जोड घटाउन गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आदर्शको राजनीति अबलम्बन गर्नुपर्ने बताए ।

उनले अरुको घर भत्किन्छ र आफ्नो घर बन्छ भन्नु दुर्भाग्यपूर्ण हुने बताए ।

पौडेलले कम्युनिष्टहरू विभाजन भएर सत्ता प्राप्ति गर्ने कांग्रेसले मुलुकलाई समाधान दिन नसक्ने भन्दै मुलुकका सबै समस्या समाधान गर्ने मिसनका लागि भिजन भएको कांग्रेस आवश्यक रहेको बताए ।

उनले कांग्रेसको १४औं महाधिवेशन त्यो मिशनका लागि भिजन भएको कांग्रेस बनाउने बताए । पौडेलले आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिन सक्ने संकेत दिएका छन् ।

Published : Saturday, 2020 July 4, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया