कोरोनाबाट काठमाडौं र गोरखामा दुईको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले कोरोनाबाट गोरखा र रुपन्देहीका १–१ जना पुरुषको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ बस्ने ४४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

मधुमेहका रोगी उनलाई निमोनिया भएपछि गोरखा अस्पतालको आइसोलेसनमा शुक्रबार भर्ना गरिएको थियो । उनको शनिबार बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको डा.गौतमले बताए ।

कोरोनाबाट मृत्यु भएका ती व्यक्ति असार १७ गते कतारबाट नेपाल फर्किएका थिए । सोही दिन उनलाई पालुङटार क्वारेन्टिनमा राखिएको थियो ।

उता, रूपन्देही जिल्लाको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा असार १४ गते भर्ना भएका ती व्यक्तिलाई क्षय रोग भएको थियो ।

उनको असार १७ असारमा शिक्षण अस्पतालमा मृत्यु भएको डा.गौतमले बताए । उनलाई असार १८ गते कोरोना पुष्टि भएको थियो ।

रुपन्देही र गोरखामा एक–एक जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

Published : Saturday, 2020 July 4, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया