कांग्रेस वडाध्यक्ष डाँगीमाथिको संघातिक आक्रमण साधारण होइनः योगेन्द्र चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले वडाध्यक्ष फर्साराम डाँगीमाथि भएको सांघातिक आक्रमणलाई लोकतन्त्रमाथिको आक्रमणका रुपमा टिप्पणी गरेका छन् ।

कांग्रेसको असार १६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकमा चौधरीले वडाध्यक्ष डाँगीमाथि भएको आक्रमणलाई साधारण रुपमा लिन नहुने बताएका हुन् ।

‘दाङको शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि भएको आक्रमणलाई साधारण रुपमा लिन सकिँदैन’, उनले भने, ‘मुलुकमा झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकार छ । कम्युनिस्ट अर्थात माओवादीका नाममा कांग्रेसमाथि सांघातिक हमला हुन्छ । कांग्रेसलाई कमजोर बनाउन कतै आक्रमणमा सत्ता पक्ष र माओवादीबीच साँठगाँठ त छैन ?’

कम्युनिस्टहरूको बलियो शासन भएका बेला कांग्रेसका कार्यकर्तामाथि आक्रमण हुने कुरालाई गम्भीर रुपमा लिएर पार्टी नेतृत्वले आवश्यक कदम उठाउनुपर्ने सुझाव केन्द्रीय सदस्य चौधरीले राखेका थिए ।

असार १६ गते बिहान करीव ११ बजे दाङ जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. २ का नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष फर्साराम डाँगीलाई कार्यकक्षमा हतियारधारी समूह प्रवेश गरी मरणासन्न हुने गरी कुटपिट गरेको थियो ।

घटनाको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले घोर निन्दा र भर्त्सना गरिसकेको छ ।

कांग्रेसले घटनामा संलग्न व्यक्तिहरूको तुरुन्त खोजी गरी हदैसम्मको कानूनी कार्वाही गर्न र गम्भीर घाइते भएका डाँगीको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

Published : Friday, 2020 July 3, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया