कोरोनाका नाममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे २६ लाखकाे बिल, लमहीमा खैलाबैला

घोराही । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण र स्वास्थ्य सामग्री खरिदमा दश अर्ब खर्च भएको जनाएका बेला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने स्थानीय तहहरूसँग कोरोनाका नाममा पैसा असुल्न थालेको छ ।

दाङको घोराहीमा रहेको प्रतिष्ठानले बिहीबार लमही नगरपालिकालाई पत्र पठाएर झण्डै २६ लाख रुपियाँ माग गरेको छ । प्रतिष्ठानको पत्रले लमही नगरपालिकामा खैलाबैला उत्पन्न भएको छ ।

प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवद्वारा बिहीबार पठाइएको पत्रमा भनिएको छ, ‘प्रतिष्ठानले पीसीआर विधिबाट परीक्षण गर्दा नेपाल सरकारले तोकेको दर रेट रु. ५५०० मा परीक्षण गर्ने जानकारी गराउँदै लमही नगरपालिकाबाट ४७१ जनाको परीक्षण भएकोमा रु.५५००० का दरले हुन आउने रु. २५ लाख ९० हजार ५० सय प्रतिष्ठानमा शोधभर्ना गरिदिनुहुन विनम्र अनुरोध छ ।’

सरकारले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने जनाइसकेको छ । प्रतिष्ठानलाई केन्द्र सरकारबाट पनि सहयोग भएको छ । तर, प्रतिष्ठानले नगरपालिकालाई पत्र पठाएर पैसा माग गरेपछि केन्द्र सरकारले कोरोनामा खर्च गरेको रकम कहाँ गयो भनेर ? प्रश्न उब्जिएको छ ।

Published : Friday, 2020 July 3, 8:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया