कोरोनाबाट काठमाडाैंमा ४९ दिनको शिशुको मृत्यु, बिहीबार ४७३ संक्रमित भेटिए

काठमाडाैं । कोरोनाभाइरस सङ्क्रमणका कारण एक जना ४९ दिनको शिशुको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

जेठ ९ गते त्रिविवि शिक्षण अस्पताल भर्ना गरिएका शिशु भेन्टीलेटरमा उपचाररत थिए । याेसँगै कोरोनाभाइरसका कारण नेपालमा ३१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएकाे छ।

नेपालमा विगत २४ घण्टामा थप ४७३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । यो वृद्धिसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १४,५१९ पुगेको छ ।

तीमध्ये ५,३२० जना निको भएका छन्। तीमध्ये गत २४ घण्टामा ६६४ जना निको भएका थिए । अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,३६० भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

दैनिक निको हुनेहरूको सङ्ख्या यो अहिलेसम्मकै उच्च हो। बुधवार ४६२ जना निको भएका थिए । अहिलेसम्म प्रदेश नं ५ र प्रदेश नं २ मा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ ।

कोरोनाभाइरसका कारण ४९ दिनको शिशुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडाैंमा असार १७ गते बुधवार साँझ मृत्यु भएको हो ।

म्याग्दी जिल्ला धौलागिरी नगरपालिकाका शिशुलाई जेठ २ गते शिक्षण अस्पताल भर्ना गरिएको र मृगौला एवम् नाकको समस्याका कारण आईसीयूमा राखी उपचार भइरहेको डा. गौतमले बताए । कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ।

अहिले सबै ७७ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको छ । विभिन्न जिल्लामा ३८,१०९ जना व्यक्ति क्वारन्टीनमा छन् । तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन् ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,५३७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । ससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,३७,७६४ पुगेको छ ।

Published : Thursday, 2020 July 2, 11:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया