कम्युनिस्ट सरकारको हर्कतविरुद्ध कांग्रेस आक्रामक

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

कांग्रेसका प्रवक्ता शर्माले बिहीबार विज्ञप्ति जारी गरेर अधिवेशन अन्त्य गर्ने कार्यको विरोध जनाएका छन् ।

‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरूबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद् छ’, विज्ञप्तिमा भनिएको छ ।

‘यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइएको थियो’, शर्माले भनेका छन् ।

‘सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन्, ‘राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद् मात्रै होइन आपत्तिजनक छ ।’

‘विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो’, विज्ञप्तिमा भनिएको छ ।

‘अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ’, कांग्रेसले भनेको छ ।

‘जनताको जीवन प्रधान कि सत्ताको राजनीति ? सम्माननीय प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै नेपाली कांग्रेस संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Thursday, 2020 July 2, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया