कांग्रेस नेता गिरीद्वारा घाइते वडाध्यक्षसँग अस्पतालमा भेट, दोषीलाई कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले सांघातिक आक्रमणबाट गम्भीर घाइते वडाध्यक्ष फर्साराम डाँगीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका कांग्रेसका नेता एवम् दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष डाँगीको स्वास्थ्य अवस्थाका बारेमा बुधबार बिहान गिरीले जानकारी लिएका हुन् । कांग्रेस नेता गिरीले डाँगीमाथि सांघातिक आक्रमण गर्ने समूहलाई कारबाहीको माग गरेका छन् ।

मंगलवार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का नेता तथा कार्यकर्ताको समूहले वडाध्यक्ष डाँगीलाई वडा कार्यालयभित्रै प्रवेश गरी सांघातिक आक्रमण गरेर घाइते बनाएका थिए ।

घटनाको नेपाली कांग्रेसले विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपाले विज्ञप्ति जारी गरेर दोषीलाई तत्काल पक्राउ गर्न माग गरेको छ ।

Published : Wednesday, 2020 July 1, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया