कांग्रेसद्वारा स्वास्थ्य मन्त्रीसँग स्पष्टीकरण माग, क्वारेन्टिनबाट कोरोना फैलाएकाे आराेप

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको असक्षमताका कारण क्वारेन्टिनहरू कोरोनाभाइरसको संक्रमण फैलिने माध्यम बनेको जनाएको छ ।

कांग्रेसको कोरोना अनुगमन समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग मंगलबार बिहान भएको भेटवार्तामा क्वारेन्टिनको अव्यवस्थाको विषय उठाएको थियो । कांग्रेसले मन्त्री ढकालसँग काेराेनाबारे एकएक जानकारी र हिसाब किताब माग गरेकाे छ । ढकालले पनि जवाफ दिएका छन् । तर, कांग्रेसले मन्त्री ढकालकाे जवाफप्रति चित्त बुझाएकाे छैन ।

समितिका संयोजक एवम् कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले क्वारेन्टिनबाट कोरोना भाइरस सर्ने कार्य भएको जनगुनासो आएको बताए । उनले क्वारेन्टिनहरूबाट कोरोनाको महामारी फैलिएको भन्दै चिन्ता जनाएका थिए ।

डा.महतले नेपालमा भएका क्वारेन्टिनहरूनै कोरोना फैलाउने मध्याम जस्तो बनेको भन्दै क्वारेन्टिइनलाई व्यवस्थित बनाउनुपर्ने माग गरे ।

कांग्रेसले पीसीआर टेस्ट छिटो माध्यमबाट गर्न स्वास्थ्यमन्त्री ढकालको ध्यानाकर्षण गराएको छ । सरकारले दैनिक दश हजारको पीसीआर टेष्ट गर्ने जनाएको थियो । तर, त्यो टेष्ट हुन नसकेपछि कांग्रेसले चिन्ता जनाएको छ ।

डा.महतले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको बारेमा छानबिन गरेर यथार्थ तथ्यलाई बाहिर ल्याउन पनि स्वास्थ्यमन्त्री ढकालसँग आग्रह गरिएको जानकारी दिएका छन् ।

डा.महतले समयमा क्वारेन्टिनलाई व्यवस्थित गर्न माग गर्दै सरकारले त्यतातिर ध्यान दिनुपर्ने बताए । कांग्रेसले काेराेनाकाे नाममा खर्च भएकाे दश अर्बकाे एकएक जानकारी पनि माग गरेकाे छ ।

क्वारेन्टिनका कारण नेपालमा अहिले कोरोनाभाइरस संक्रमितको संख्या अत्याधिक मात्रामा बढेको डा.महतले बताए ।

क्वारेन्टाइनलाई व्यवस्थापन गर्न कम्युनिस्ट सरकारले स्थानीय तहलाई रकम नदिएकोमा असन्तुष्टि जनाउँदै सह–महामन्त्री डा.महतले तत्काल क्वारेन्टिन व्यवस्थापन गर्न स्थानीय तहलाई रकम दिन स्वास्थ्यमन्त्री ढकाललाई सुझाव दिएका छन् ।

कांग्रेसको कोरोना अनुगमन समितिको सुझाव र सल्लाहपछि मन्त्री ढकालले आफू सबै सुझावहरूव कार्यान्वयनका लागि तयार रहेको बताएका छन् ।

मन्त्री ढकालसँग भेट गर्न संयोजक एवम् सहमहामन्त्री डा.महतका साथै कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, मोहनबहादुर बस्नेत, चन्द्र भण्डारी र गगनकुमार थापा तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी पनि गएका थिए ।

Published : Tuesday, 2020 June 30, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया